साउन लागेसँगै बैंकिङ्ग प्रणालीको निक्षेप संकलनमा सामान्य गिरावट, अन्य सूचक कस्ता ?


काठमाडौं – नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा गिरावट देखिएको छ। केही समययता निरन्तर बढ्दै आएको निक्षेप संकलनमा साउन लागेसँगै सामान्य गिरावट देखिएको हो।

केन्द्रीय बैंकको तथ्यांकअनुसार साउन १ गते बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ७५ अर्ब निक्षेप संकलन भएकोमा २ गते घटेर ६४ खर्ब ६४ अर्ब संकलन भएको छ। तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा एकदिनमा ११ अर्बले निक्षेप संकलन घटेको छ।

यसैगरी, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि १० अर्बले घटेको छ। असार १ गते ५७ खर्ब ३९ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले २ गते भने ५७ खर्ब २९ अर्ब निक्षेप संकलन गरेका छन् । त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह ८ अर्बले घटेको छ।

मंगलबारसम्म ५१ खर्ब ५२ अर्ब प्रवाह भएकोमा बुधबार ५१ खर्ब ४४ अर्ब कर्जा प्रवाह भएको छ। सो समयावधिमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा पनि ७ अर्बले घटेको छ। मंगलबार ४५ खर्ब ५६ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले बुधबार ५१ खर्ब ४९ अर्ब कर्जा प्रवाह गरेका हुन्।

राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७७.६० प्रतिशतबाट बढ्दै ७७. ८७ प्रतिशतमा कायम भएको देखाएको छ। त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर २.९५ प्रतिशत कायम भएको छ ।