बीमा प्राधिकरणद्वारा डिजिटलाईजेसनमा जोड, ‘डिजिटल इन्स्योरेन्स पोलिसी गाइडलाइन्स–२०२४’ लागू

बीमा प्राधिकरणद्वारा डिजिटलाईजेसनमा जोड, ‘डिजिटल इन्स्योरेन्स पोलिसी गाइडलाइन्स–२०२४’ लागू


काठमाडाैं – नेपाल बीमा प्राधिकरणले डिजिटलाईजेसनमा जोड दिँदै आज (साउन१) देखि लागू हुने गरी बीमा कारोबार विद्युतीय माध्यमबाट गर्ने व्यवस्था सुचारु गरेको छ। बीमा प्राधिकरणले केही समय पहिले ‘डिजिटल इन्स्योरेन्स पोलिसी गाइडलाइन्स डीआईपीडी–२०२४’ जारी गरेको थियो। यो डीआईपीडी आजदेखि लागू भएको छ।

डीआईपीडी लागू भएसँगै अब बीमा कम्पनीहरुले अभिकर्ताको संलग्नता बिना पनि डिजिटल माध्यमबाट बीमा पोलिसी बिक्री गर्न पाउने बाटो खुलेको छ। डीआईपीडीमा अभिकर्ताको संलग्नता बिना बिक्री गरिएका डिजिटल इन्स्योरेन्स पोलिसीको प्रिमियम शुल्कमा बीमा कम्पनीले बीमितलाई छुट दिने पाउने व्यवस्था पनि गरेको छ।

पहिले जारी भएका बीमा पोलिसीलाई पनि कम्पनीहरुले डिजिटलमा रुपान्तरण गर्न पाउनेछन्। बीमा कम्पनीहरुले बीमा शुल्क, दाबी भुक्तानी, विभिन्न लाभमा गर्नुपर्ने भुक्तानीजस्ता कारोबार पनि डिजिटल रुपमै गर्नुपर्ने अनिवार्य गरिएको छ।

कागजी प्रकृयाको कामलाई केही हदसम्म घटाउन बीमा प्राधिकरणले यसतर्फ जोड दिएको बीमा प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले बताएका छन्। ‘प्राधिकरणले मार्गदर्शन जारी गरिसकेको छ, अब त्यही मार्गदर्शन बमोजिम बीमा कम्पनीहरुले डिजिटल पोलिसी जारी गर्न पाउँछन्’। उनले भने ‘ बीमा क्षेत्रमा डिजिटल प्रविधिको कामहरु अघि बढ्छ । पेपरलेस काम गर्न प्राधिकरणले यस्तो व्यवस्था गरेको हो।’