साउनमा अधिकांश बैंकहरुले घटाए ब्याजदर


काठमाडौं – अधिकांश वाणिज्य बैंकहरुले आगामी साउन महिनाका लागि निक्षेपमा थप ब्याजदर घटाएका छन्। आज सार्वजनिक विवरणमा अधिकांश वाणिज्य बैंकहरुले साउनका लागि थप ब्याजदर घटाएका हुन्। हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये दुई बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् भने १३ ले घटाएका छन्। बाँकी ५ बैंकको ब्याजदर स्थिर छ। असारमा बैंकहरुले व्यक्तिगत मुद्दतीमा दिएको औसत ब्याजदर ६.९१ प्रतिशत रहेकोमा साउनमा घटेर ६. ७३ प्रतिशतमा झरेको छ।

असारको तुलनामा साउनमा कृषि विकास बैंक र एभरेष्ट बैंकले ब्याजदर केही बढाएका छन्। त्यस्तै, नेपाल एसबीआई, लक्ष्मी सनराइज, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा र स्टान्डर्ड चार्टर्डले स्थिर राखेका छन्। व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर जम्मा ७.५३ प्रतिशत कायम भएको छ। जुन एनएमबी र एनआईसी एशिया बैंकको छ। कृषि विकास बैंकले साउनका लागि ६.२९ ब्याजदर तोकेको छ। बैंकको असारको ब्याजदर ५.६६ प्रतिशत रहेको थियो। एभरेष्ट बैंकले साउनका लागि ६.३ प्रतिशत ब्याजदर तोकेको छ। बैंकको असारमा ५.७५ प्रतिशत ब्याजदर रहेको थियो। यस्तै, राष्ट्रिय वाणिज्य बैंकले साउनका लागि ६.२१ प्रतिशत ब्याजदर तोकेको छ । साे बैंकले असारमा ६.२२ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो।

नेपाल एसबीआई बैंकले साउनका लागि असारकै ब्याजदर ६.३ प्रतिशत तोकेको छ। यस्तै, लक्ष्मी सनराइज बैंकले पनि साउनका लागि असारकै ब्याजदर ६.५ प्रशित कायम राखेको छ । नबिल , इन्भेष्टमेन्ट मेगा, स्टान्डर्ड चार्टर्ड बैंकले असारकै ब्याजदर अर्थात् ७ प्रतिशत कायम राखेको छ ।

त्यस्तै, ग्लोबल आईएमई बैंकले ६.२५ प्रतिशत, कुमारी बैंकले ६.७१, प्राइम कमर्सियल बैंकले ६.५, नेपाल बैंक २५, सानिमा बैंकले ६.४ प्रतिशत ब्याजदर तोकेका छन्। यी बैंकहरुले असारमा क्रमश : ६.५ प्रतिशत, ६.७६ प्रतिशत, ६.७५ प्रतिशत, ६.७५ प्रतिशत र ६.८ प्रतिशत ब्याजदर तोकेका थिए। यसैगरी, साउनका लागि सिटिजन्स, सिद्धार्थ बैंकले बराबर ६.७५ प्रतिशत ब्याजदर तोकेका छन्। असारमा सिटिजन्स बैंककाे ६.९ प्रतिशत , सिद्धार्थ बैंकको ७ प्रतिशत ब्याजदर रहेको थियो।

साउनका लागि माछापुच्छ्रे बैंक प्रभु बैंकले ७ प्रतिशत ब्याजदर तोकेका छन्। असारमा यी बैंकहरुको क्रमशः ७.५ प्रतिशत र ६. ९ प्रतिशत ब्याजदर कायम थियो । साउनका लागि एनएमबी बैंकले ७.५३ प्रतिशत, एनआईसी एशिया बैंकले ७.५३ प्रतिशत, हिमालयन बैंकले ७.५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्। असारमा यी बैंकहरुको क्रमशः ७.६९ प्रतिशत , ८.२५ प्रतिशत, ८.२५ प्रतिशत ब्याजदर रहेको थियो।