काठमाडौं – सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्ने उपकरण विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका केही लगानीकर्ताहरू बचतपत्रको परिपक्व अवधि पूरा भए पनि पैसा फिर्ता लिन आएका छैनन्। केही दिनअघि सूचना निकाल्दै नेपाल राष्ट्र बैंकल जेठ मसान्तसम्म बचतपत्रको भुक्तानी लिन लगानीकर्ताहरुलाई आह्रवान समेत गरेको छ ।
केन्द्रीय बैंककाअनुसार बचतपत्रको परिपक्व अवधि पूरा भए पनि पैसा भुक्तानी लिन नआएको रकम गत जेठसम्म करिब १५ करोड रुपैयाँ रहेको छ। हालसम्म भुक्तानी हुन बाँकी यस्तो रकम करिब १४ करोड ९० लाख रुपैयाँ छ । त्यसमध्ये सबैभन्दा धेरै नागरिक बचतपत्रमा ९ करोड ९३ लाख, वैदेशिक रोजगार बचतपत्रमा ९१ लाख र विकास ऋणपत्रमा ४ करोड ६ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेकाे केन्द्रीय बैंकले जनाएकाे छ।
धेरै नागरिकहरूमा परिपक्व अवधिबारे जानकारी नहुनु, लगानीकर्ताको मृत्यु हुनु, अदालत तथा अख्तियारको आदेश, नेपाल बाहिर रहेरलगायत कारण नागरिक परिपक्व भएको रकम पनि भुक्तानी लिन नआएको केन्द्रीय बैंकको भनाइ छ। गत चैत १९ देखि सरकारको आन्तरिक ऋण पनि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले उठाउँदै आएको छ । त्यसअघि आन्तरिक ऋण उठाउने काम राष्ट्र बैंकले गर्दै आएको थियो ।
सरकारले आन्तरिक ऋण उठाउने प्रयोजनका लागि विभिन्न उपकरण प्रयोगमा ल्याउँदै आएको छ । जस अन्तर्गत नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्र र विकास ऋण पत्र पनि पर्छन्। वैदेशिक राेजगारीमा रहेका नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैरआवासीय नेपालीले मात्र खरिद गर्न पाउने सरकारी ऋणपत्र ‘वैदेशिक रोजगार बचतपत्र’ हाे। सम्पूर्ण नागरिकले किन्न पाउने उपकरण नागरिक बचतपत्र हो। जुन ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउँदैनन्। विकास ऋणपत्र भने नागरिकले सिधै किन्न पाउँदैनन् बैंक तथा वित्तीय संस्थाबाट मात्र किन्न पाउँछन् ।



About Us
प्रतिक्रिया