काठमाडौं – यो साता शेयर बजारमा निकै उत्साह छायो । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको सरकार ढल्ने भएसँगै शेयर बजार लगानीकर्ता नयाँ सत्ता समीकरणलाई लिएर उत्साहित हुँदा शेयर बजारमा उत्साह छाएको हो। बजार निरन्तर उकालो लाग्दा लगानीकर्ताको मनोबल समेत उच्च बन्दै गइरहेको थियो ।
नयाँ सरकारबाट शेयर लगानीकर्ताले रुचाएका व्यक्ति विष्णु पौडेल अर्थमन्त्री बन्ने कुराले लगानीकर्ता उत्साहित पनि भए । अर्थतन्त्र सुधारको बाटोमा रहेको, ब्याजदर ओरालो लागि रहेको र नयाँ सत्ता समीकरणसँग समन्वय बढ्ने आशाले शेयर बजारका लगानीकर्ता उत्साहित हुँदा यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा देखिएको हो । साउनको पहिलो साता आउने तयारीमा रहेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिको प्रतीक्षामा रहेका लगानीकर्ता गभर्नर महाप्रसाद अधिकारीले समेत मौद्रिक नीति लचिलो आउने संकेत गर्दा थप उत्साहित बनेका छन् ।
शेयर बजारमा दोरोहो अंकको वृद्धि
साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको थियो। आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.२७ अकंले बढेर २१४०.९७ बिन्दुमा बन्द भएको थियो। यस दिन ३२५ कम्पनीको १ करोड ४० लाख १४ हजार ६२२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २९ लाख ३१ हजार ८५४ रुपैयाँको कारोबार भएको थियो । आइतबार १० उपसूचकमा हरियाली आउँदा बैंकिङ्ग समूहको ०.७८ प्रतिशत, होटल तथा पर्यटन समूहको २.९६ प्रतिशत, हाइड्रोपावर समूहको ०.०१ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.८५ प्रतिशत लगायत १० उपसूचक बढेको थियो । त्यसदिन, एनआरएन इन्फाइट्रचरको २१ करोड ७१ लाख रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको १५ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ।
शेयर बजारमा सामान्य करेक्सन
साताको पहिलो दिन आइतबार दोहोरो अंकले बढेको शेयर बजारमा दोस्रो कारोबारको दिन सोमबार सामान्य करेक्सन देखियो । सोमबार नेप्से ४.६२ अकंले घटेर २१३६.३५ बिन्दुमा बन्द भएको थियो । त्यसदिन ३२४ कम्पनीको १ करोड ४ लाख ७५ हजार १८१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार रुपैयाँको शेयर कारोबार भएको थियो । सोमबार तीन उपसूचकमा हरियाली हुँदा १० उपसूचकमा राताम्य हुँदा फाइनान्स समूहको ०.२६ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.९२ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.४६ प्रतिशतले शेयर मूल्य बढेको थियो ।
बजारमा पुनः दोहोरो अकंको वृद्धि
साताको पहिलो दिन आइतबार दोहोरो अंकले बढेको शेयर बजारमा सोमबार सामान्य करेक्सन देखियो। साताको तेस्रो कारोबारको दिन मंगलबार भने शेयर बजारमा पुनः दोहोरो अंकको वृद्धि देखियो । मंगलबार नेप्से १५.७९ अकंले बढेर २१५२.१४ बिन्दुमा कायम भएको थियो। त्यसदिन ३१६ कम्पनीको १ करोड १६ लाख ६१ हजार २०८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार रुपैयाँको शेयर कारोबार भएको थियो ।
मंगलबार आठ उपसूचकमा हरियाली आउँदा बैंकिङ्ग समूहको ०.५३ प्रतिशत, विकास बैंक समूहको २।४९ प्रतिशत, हाइड्रोपावर समूहको ०.५३ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.३६ प्रतिशत र जीवन बीमा समूहको ०.२६ प्रतिशतले शेयर मूल्य बढेको थियो। मंगलबारको कारोबारमा गणपति लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । साथै, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर मूल्य नौ दशमलव ९१, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नौ दशमलव ७९ र सबैको लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य नौ दशमलव १५ प्रतिशतले वृद्धि आएको थियो ।
शेयर बजारमा पुनः दोहोरो अंकको वृद्धि
साताको चौथो कारोबारको दिन बुधबार पनि शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको थियो । त्यस दिन नेप्से २३. २५ अकंले बढेर २१७५.४० बिन्दुमा कायम थियो। बुधबार ३२२ कम्पनीको १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार रुपैयाँको कारोबार भएको थियो । त्यसदिन, विकास बैंकबाहेक अन्य १२ उपसूचकमा हरियाली आएको थियो। बुधबार बैंकिङ्ग समूहको १.६९ प्रतिशत, फाइनान्स समूहको १.१५ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.९४ प्रतिशत र हाइड्रोपावर समूहको १.०७ प्रतिशतले शेयर मूल्य बढेको थियो ।
नेप्सेमा परिसूचक एक वर्ष यताकै उच्च बिन्दुमा
साताभरि सोमबार बाहेक अन्य दिन बढेको शेयर बजारमा साताको अन्तिम कारोबारको दिन थप रौनकता थपियो । त्यसदिन शेयर बजार परिसूचक नेप्सेले २२ सयको बिन्दु नाघेको थियो । जुन एक वर्ष यताकै सबैभन्दा उच्च बिन्दुमा पुगेको थियो । बिहीबार नेप्से परिसूचक २२ सय ४ दशमलव ६१ अंकमा पुगेको थियो । कारोबार बन्द हुँदा शेयर बजारले २२ सय अंक नाघेको गत साउन ७ यता पहिलो पटक हो । यसअघि गत साउन ७ गते नेप्से परिसूचक २२२७ अंकमा बन्द भएको थियो ।
त्यसदिन नेप्से परिसुचक २२ सयको बिन्दुमा उक्लिएसँगै कारोबार रकम पनि उच्च भएको थियो । अघिल्लो दिन कुल ५ अर्ब ७४ करोडको कारोबार भएकोमा बिहीबार७ अर्ब ८ करोड पुगेको थियो । १५४ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने १२ को स्थिर रह्यो । बिहीबारजीवन बीमा समूह ३.०६ प्रतिशत तथा बैंकिङ्ग २.४२ प्रतिशत बढ्यो । अंकमा बैंकिङ्ग २८, विकास बैंक ७, फाइनान्स ७, होटल तथा पर्यटन ३३, हाइड्रोपावर ३७, जीवन बीमा ३१८, उत्पादन ४, निर्जीवन बीमा १११ र अन्य समूह २५ ले बढेको थियो। माइक्रोफाइनान्स २५ र व्यापार समूह ११ अंक घटेका थिए।
यो साता पाँच दिन खुलेको शेयर बजारमा ४ दिन बढ्यो । गत साता २११९ अंकमा रहेको शेयर बजार यो साता २२०४ अंकमा पुगेको छ। यो साता शेयर बजार ४.०१ प्रतिशत बढ्यो। करिब एक वर्षकै उच्च विन्दुमा पुगेको छ । हाल कायम बजार परिसूचक २२०४ अंक साउन ७ यताकै उच्च हो। यसअघि साउन ७ गते नेप्से परिसूचक २२२७ अंकमा बन्द भएको थियो । करिब २ वर्षदेखि नै शेयर बजार न्यूनतम १८०० देखि अधिकतम २२२७ अंकबीच मै घुमिरह्यो । जसले गर्दा लगानीकर्ता तथा कारोबारीले २२०० अंकलाई प्रतिरोधकका रुपमा बुझ्दै आएका थिए । जसले गर्दा प्राविधिक रुपमा विश्लेषण गरेर लगानीको रणनीति बनाउनेका लागि पनि आगामी साता अझै महत्त्वपूर्ण छ । कतिपयले शेयर बजारको यो वृद्धिलाई राजनीतिक सत्ता समीकरणसँग जोडेर हेर्ने गरेका छन् । नयाँ सरकार गठन प्रक्रिया मै छ । जसले गर्दा राजनीतिक प्रभावको असर आगामी साता पनि पर्न सक्नेछ ।






About Us
प्रतिक्रिया