काठमाडौं – नेपाल राष्ट्र बैंकको पछिल्लाे तंथ्याकअनुसार बैंकिङ्ग प्रणालीको निक्षेप ६४ खर्बको हाराहारीमा पुगेको छ। तथ्यांकअनुसार असार २१ गते गत शुक्रबार एकैदिन १२ अर्बले बढ्दै बैंकिङ्ग प्रणालीमा ६३ खर्ब ९९ अर्ब निक्षेप संकलन भएको हाे।
असार २० गते बिहीबारसम्म बैंकिङ्ग प्रणालीमा ६३ खर्ब ८७ अर्ब निक्षेप संकलन भएको थियो । सो अवधिमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलन पनि ११ अर्बले बढेको छ। गत बिहीबार ५६ खर्ब ६३ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले शुक्रबार ५६ खर्ब ७४ अर्ब निक्षेप संकलन गरेका हुन्।
त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह पनि १ अर्बले बढेको छ। बिहीबारसम्म ५१ खर्ब ५२ अर्ब प्रवाह भएकोमा शुक्रबार ५१ खर्ब ५३ अर्ब प्रवाह भएको छ। सो समयावधिमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा पनि १ अर्बले नै बढेको छ।
बिहीबार ४५ खर्ब ५७ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले शुक्रबार ४५ खर्ब ५८ अर्ब कर्जा प्रवाह गरेका छन्। राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.५९ प्रतिशतबाट घट्दै ७८.४७ प्रतिशतमा कायम भएको देखाएकाे छ। त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर २.९५ प्रतिशतबाट बढेर ३ प्रतिशत कायम भएको छ।



About Us
प्रतिक्रिया