काठमाडौं – नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नीजि क्षेत्रमा देखिएको समस्या बिस्तारै बैंकिङ्ग क्षेत्रमा सर्दै आएको बताएका छन्। अध्यक्ष केसीले मंगलबार नेपाल उद्योग वाणिज्य महासंघले मौद्रिक नीतिको विषयमा सुझाव दिनका लागि आयोजना गरेको कार्यक्रममा धारणा राख्दै निजी क्षेत्रकाे समस्या बैंकिङ्ग क्षेत्रमा सरेकाे बताएका हुन्।
हाल बैंकिङ्ग क्षेत्रका साथै निजी क्षेत्रमा देखिएको समस्याको समाधानका लागि दुवै क्षेत्रको सहकार्य अति आवश्यक रहेको पनि उनले औँल्याए। उनले बैंकिङ्ग क्षेत्र र नीजि क्षेत्रले एकअर्कालाई राम्रोसँग बुझ्न नसक्दा गलत धारणा निर्माण भएको पनि धारणा राखे। जसले गर्दा बाहिरिएका कतिपय तथ्यांक सत्य नभएको केसीले दाबी गरे।
हाल देखिएका समस्याहरुको समाधानका लागि दीर्घकालीन उपाय अपनाउनुपर्ने उनले औँल्याए । निजी क्षेत्रका समस्या समाधान हुने हो भने बैंकिङ्ग क्षेत्रका समस्याको पनि हल हुँदै जाने उनको तर्क छ।
प्रतिक्रिया