काठमाडौं – मंहगो रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा जुटेको रिलायन्स स्पिनिङ मिल्स घाटामा रहेको देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय रिपोर्टमा कम्पनी घाटामा रहेको देखिएको हो ।
तेस्रो त्रैमासम्मकाे समिक्षा अवधिमा कम्पनीको नाफामा ९७.१३ प्रतिशत गिरावट आएको छ । गत आर्थिक वर्ष २०७९/८० मा ९२ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आवको चैतसम्म २ करोड ६३ लाख रुपैयाँ मात्रा नाफा कमाएको छ । साथै, समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानीमा पनि भारी अंकको गिरावट देखिएको छ । हाल कम्पनीको प्रतिशेयर आम्दानी २.०८ रुपैयाँ छ भने गत आर्थिक वर्ष प्रतिशेयर आम्दानी ५४.३४ रुपैयाँ बढी थियो ।
त्यस्तै, अधिकांश सूचकमा गिरावट आएको कम्पनीको सञ्चालन मुनाफा पनि घटेको छ । गत आर्थिक वर्षमा सञ्चालन मुनाफा १ अर्ब २४ करोड रुपैयाँभन्दा बढी थियो भने चालु आवमा ३९ करोड ९७ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ । कम्पनी असार अन्तिम सातादेखि बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणलाई शेयर बिक्री गर्ने तयारीमा छ। कम्पनीले सुरुमा वैदेशिक रोजगारीमा गएका नेपालीलाई ८२०.८ रुपैयाँमा आईपीओ बिक्री गर्न लागेको हो ।
प्रतिक्रिया