‘अर्थतन्त्रको खुट्टा भाँचिए पनि हात भाचिएको छैन’

‘अर्थतन्त्रको खुट्टा भाँचिए पनि हात भाचिएको छैन’


अहिले मुलुकमा लकडाउन जारी छ । कोरोना संक्रमणको प्रभावले विश्व अर्थतन्त्र ध्वस्त छ । विश्वका अधिकांश मुलुकमा लकडाउन छ । सबै आर्थिक कारोबार ठप्प छ । यसको प्रतक्ष प्रभाव बैंक तथा वित्तिय क्षेत्रमा पनि परेको छ । यस्तो अवस्थामा पनि बैंक तथा वित्तीय संस्थाहरुले सावधानीपूर्वक सेवा सूचारु राखेका छन् । कोरोना प्रभाव र लकडाउनले वित्तीय क्षेत्रलाई याथास्थितीमा पुर्याउन लामो समय लाग्न माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधीकृत सन्तोष कोइराला बताउँछन । उनी एक होनाहार बैंकरको नाममा परिचित छन् । बैंक अफ काठमाण्डू, सानिमा बैंकमा करिब २ दशक काम गरेका उनी अहिले माछापुच्छ्रे बैंकको कार्यकारी भुमीकामा छन् ।  करिब दुई दशक बैकिङ्ग क्षेत्रको अनुभव प्राप्त कोइराला कम उमेरका सीइओहरुको पंक्तिमा पर्दछन् । कोरोना भाइरसको कारण बैकिङ्ग क्षेत्रमा परेको प्रभाव र यसले भावी दैनिकि पार्नसक्ने असरका विषयमा उनीसँग बैकिङ्ग समाचारका लागि मनोज रेग्मीले गरेको कुराकानीः

देश पूर्ण लकडाउनमा छ । जनता कोरोना भाइरसबाट आतंकित छन् । यस्तो सम्बेदनशील अवस्थामा माछापुच्छ्रे बैंक लिमिटेडले चाही कसरी कस्तो सेवा दिएको छ ?

हामीले आवश्यकता हेरि उपत्यकाका तीन जिल्लामा १/१ वा शाखा सञ्चालनमा गरि सेव दिएका छौं । उपत्यका बाहिर प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरी केही शाखा खोली सेवा दिएका अवस्था छ । डिजिटल बैंकिङ्ग नभएका, एटिएम कार्ड नभएका हजारौं ग्राहकहरुलाई १/२ घण्टा शाखा खोली सेवा दिएको अवस्था छ । यस्तो अवस्थामा घरबाटै डिजिटल बैकिङ्ग कारोबार गर्नु नै उचित हुन्छ । हामी र हाम्रा कर्मचारी साथीहरु पनि घरबाटै काम गरेका छन् । यो समय भनेको आफू बच्नु र अरुलाई पनि बचाउने बेला हो ।

बैंकहरुले कार्यालय खोलेर वित्तीय सेवा दिइरहेका छन, यसले जोखिम झन बढ्ला नि ?

बाणिज्य बैंकहरुले आफ्ना शाखाहरु संचालन गरिरहेका छन् । अहिले त्रैमास अन्त्य र राजश्व संकलनको समय सकिएको छ । क्लियरिङ सेवाहरु संचालीत छन् । हरेक ठाउँमा केही शाखाहरु मर्फत कार्यालय संचालीत छन् । यसबाहेक एटीएम लगायतका डिजिटल कारोबार पूर्ण रुपमा संचालीत छन् । तर, नेपालको जस्तो सानो मार्केट भएको मुलुकमा डिजिटल सेवा दिनसक्ने अवस्था अझै छैन । त्यसैले बैंकले सुरक्षित तवरले शाखा नै खोलेर सेवा दिइरहेका छन् । यद्यपी यसमा जोखिम त बढ्छ नै । तर स्यानीटाइजर, माक्स लगायतका उपकरणहरु प्रयोग गरी कर्मचारीलाई आलोपालो गरेर सेवाग्राहीलाई उचित सेवा दिन हामीले आग्रह गरेका छौं । 

कोरोनाको संक्रमण र लामो समयको लकडाउनले बैंक तथा वित्तिय संस्थामा कस्तो प्रभाव पारेको छ ?

कोरोना संक्रमणको प्रभाव विश्वभरि नै परिरहेको छ । विकास बैंक, कमर्सियल बैंक वा फाइनान्स कम्पनी भन्दा पनि समग्र अर्थतन्त्र नै प्रभावित भएको अवस्था हो । तत्कालको समयमा भन्दा पनि यसको प्रभाव अलि पछि बढी पर्ने देखिन्छ । जसका कारण विकास बैंकहरु पनि पूर्ण रुपमा प्रभावित भएका छन् । लकडाउन यतीबेलासम्म हुन्छ भन्ने ठ्याक्कै एकीन गर्न पनि सकिएको छैन । यसकारण बैंक तथा वित्तिय संस्थामा चौतर्फी प्रभाव परेको देखिन्छ । देशको अर्थतन्त्रको मुटु, कलेजो भनेकै बैंकिङ्ग प्रणाली हो । यसले नेपाली बैकिङ्ग प्रणालीमा असर नपर्ने कुरै छैन । चुनौतीपूर्ण बन्दै गएको छ । नेपालको बैकिङ्ग प्रणाली तर हतोत्साहित भई हाल्नु पर्ने अवस्था छैन । अर्थतन्त्रको खुट्टा भाँचिए पनि हात भाचिएको छैन । भोली यसलाई बनाउला । तर, आजको आवश्यकता भनेको मानवीय क्षती बचाउनु आफू बच्नु र अरुलाई बचाउनु नै हो । अरु कुरा आज नभए भोली त होला नि ।

लकडाउनका कारण आर्थिक गतिविधि ठप्प छ । यसकारण ऋणीहरुको कर्जा तिर्न सक्ने क्षमतामा कमी आई खराब कर्जा बढ्ने सम्भावना कस्तो देख्नुहुन्छ ?

बैकिङ्ग क्षेत्रमा कोरोना संक्रमण र लकडाउनको प्रभाव स्पष्ट रुपमा देखिन अलि समय लाग्छ । होटल व्यवसाय, टुरिजम, यातायात सबै ठप्प भएको हुनाले उनीहरुलाई कर्जाको साँवा व्याज तिर्न धेरै गाह्रो परिरहेको छ । यस विषयमा नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार नै हामी चल्नुपर्छ । नेपाल राष्ट्र बैंकले जे-जस्ता व्यबस्थाहरु संचालन गरेर नीतिहरु तर्जुमा गर्छ त्यसै अनुसार हामी अगाडी बढ्ने छौं । अहिले यसबारे अध्ययन समिति मार्फत राष्ट्र बैंकले आर्थिक प्रभावको अध्ययन गरीरहेको हुँदा पछि नै यसको अवस्था थाहा हुन्छ ।

बैंकहरुले धमाधम निक्षेपको व्याजदर घटाइरहेका छन् । व्यवसायीहरु ऋणको व्याजदर घटाउन माग गरिरहेका छन् । यस्ता मागहरुको बैंकले कसरी समायोजन गर्ने ? 

बाणिज्य बैंकहरुले  पनि व्याजदर घटाएका छन् । व्यक्तिगत मुद्धतिमा ९ प्रतिशत र संस्थागत मुद्धतिमा ८ प्रतिशत व्याज दिने सहमित भएको छ । बचतमा छ प्रतिशत व्याज दिने निर्णय भएको छ । निक्षेपको ब्याजसँगै आधार दर पनि घट्ने भएकाले सोही अनुसार ऋणको ब्याज पनि घट्नेछ ।२०७५ को फागुनमा ९.६५ प्रतिशत औसत आधार दर रहेकामा गत फागुनमा ९.४५ प्रतिशत कायम भएको छ । यसले पनि औसत आधार दरमा झण्डै ०.११ प्रतिशतले कमी आएको छ । तर व्याजदर अझ घटाउने सन्दर्भमा नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स एशोसियसनमा छलफल भइरहेको छ । सायद समाधान होला । 

राज्यले बैंकका ग्राहकहरुलाई लक्षित गरी ल्याएका सहुलियतका प्याकेजलाई तपाईले कसरी लिनु भएको छ ?

यो अत्यन्तै सकारात्मक पक्ष हो । यसलाई हामीले सकारात्मक रुपमा दिएका छौं । अहिले केही सुविधा आएको छ । केन्द्रीय बैंकले जारी गरेको सर्कुलरलाई सकारात्मक रुपमा लिनुपर्छ । विद्युतीय कारोबारमा पनि शुल्क नलिने भन्ने कुरा आएको छ । यसमा राष्ट्र बैंकले यसमा कारोबारलाई पनि खुकुलो बनाएको अवस्था पनि छ । 

कोरोनाबाट अर्थतन्त्र जोखिममा रहेको समयमा नयाँ गभर्नरको नियुक्ति भएको छ । उहाँबाट बैंकहरुका अपेक्षा के–के छन् ?

महाप्रसाद अधिकारी गभर्नरको रुपमा मात्रै नयाँ हुनुहुन्छ । बैंक तथा वित्तीय संस्थाको बारेमा उहाँले राम्रोसँग बुझ्नुभएको छ । उहाँलाई हामीले बैंक तथा वित्तीय संस्थाको परिवारको रुपमा हेरिरहेका छौँ । उहाँ डेपुटी गभर्नर हुँदा नै बैंक तथा वित्तीय संस्थासँग समन्वय गर्नुहुन्थ्यो । सबैको कुरा सुन्ने र इन्टरयाक्ट गर्ने उहाँको बानी छ । यसले गर्दा भोलीका दिनमा हामीलाई काम गर्न अझ सजिलो हुन्छ र समग्र वित्तीय क्षेत्रमा नै यसको पोजिटिभ रिजल्ट आउँछ भन्ने विश्वास लिएका छौँ । अहिले समग्र अबस्था कोरोनाको प्रभाव र लकडाउन भएका कारण अन्य छलफलहरु हुन पाएका छैनन् ।