कृषि कर्जा अनुदान दुरुपयोग नभएको गभर्नरको दाबी


काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यवसायिक कृषि कर्जामा उपलब्ध गराइने कृषि कर्जा ब्याज अनुदानको रकम दुरुपयोग नभएको जिकिर गरेका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २३औं वार्षिकोत्सव कार्यक्रममा गभर्नर अधिकारीले कृषि कर्जाको ब्याजदरमा दिइएको अनुदान हालसम्म दुरुपयोग भएको नदेखिएको दाबी गरेका छन् ।

केही व्यक्तिबाट दुरुपयोग भएको देखिएकामा असुली प्रक्रिया थालिएको उनको भनाइ छ। ‘कृषि कर्जाको अनुदान दुरुपयोग भएको भन्ने सतही कुरा हुन्। यो सफल कार्यक्रम देखिएको छ र अनुदानको प्रभावकारिता राम्रो छ’, गभर्नर अधिकारीले भने, ‘हाम्रो अध्ययनका क्रममा निकै सानो संख्यामा मात्रै यस्तो कर्जा दुरुपयोग भएको देखिएको छ। यसलाई असुल गर्ने प्रक्रिया पनि अघि बढिरहेको छ।’

हालसम्म १ लाख २६ हजार ऋणीले कृषि कर्जामा अनुदान पाएको जनाउँदै त्यस्तो अनुदान पाउने अधिकांश महिला तथा साना किसान रहेको उनले बताए। यो कार्यक्रम विवादमा परेपछि २०७९ असोज यता अनुदान नदिइएको उनले स्पष्ट पारे।