दृष्टिबिहिन सेवाग्राहीमाथि प्रभु बैंकको  दुर्व्यवहार  


काठमाडौं – समय जो छ त डिजिटल कै छ। विश्व ग्लोबल भिलेजबाट डिजिटल भिलेजमा प्रवेश गरिरहेको समयमा मोबाइल बैंकिङ्ग एप नचलाउने त कमै मानिसहरु छन्। यसै क्रममा रुपन्देही जिल्ला तिलोत्तमा निवासी परिवर्तित नाम (यम प्रसाद घिमिरे) एक महिनाअघि प्रभु बैंक लिमिटेडको मडिग्राम शाखा पुगे। कारण थियो मोबाइल बैंकिङ्ग सुचारु गराउने । 

घिमिरे एक सरकारी विद्यालयमा अध्यापन गराउँदै आएका छन्। उनले अध्यापन गराउने विद्यालयको तलब खाता प्रभु बैंकमै थियो । उनले प्रभु बैंकमा खाता भएकाले मोबाइल बैंकिङ्ग सेवा पनि सोही बैंकको लिने सोचेर सेवाका लागि आवश्यक पर्ने दस्तुर तिरे ।  उनले बैंकलाई दस्तुर तिरेसँगै केही दिनमा मोबाइल बैंकिङ्ग एपमा गएर खातामा भएका रकम ट्रान्सफर गर्न खोजे सो समयमा घिमिरेलाई थाहा भयो कि बैंकले आवश्यक पर्ने सम्पूर्ण कागजात, दस्तुर लिएर पनि सेवा सुचारु गरेको रहेनछ । सो कुरा आफूलाई जानकार भएपछि उनले बैंकलाई खबर गरे तर बैंकले बेवास्ता गरेको उनको आरोप छ ।

यही विषयलाई लिएर गत १८ मंगलबारको दिन दिउँसो १२ः३० बजे उनी फेरि बैंक पुगे । साढे  १२ बजेदेखि साढे २ बजेसम्म बैंकको मडिग्राम शाखामा उनको काम हुने उद्देश्यले बसे तर उनले सोचेजस्तो किन हुँदो हो बैंकका कर्मचारीले वास्ता नै गरेनन्। यति मात्रै भने कि २ घण्टामा सेवा सुचारु हुन्छ तर त्यो दुई घण्टा यति लामो बन्याे कि हिजोबाट मात्रै मोबाइल बैंक एपमार्फत् भुक्तानी गर्न थालेका छन् । 

उनले चेकबाट आफ्नो खातामा रहेको रकम झिक्न खोज्दा पनि विभिन्न बहाना पारेर पैसा निकाल्न नदिने गरेको पीडितको गुनासो छ। उनले बारम्बार यस्ता समस्याहरू भोग्दै आएका छन् । केही दिन अघि मात्रै पनि घिमिरेले पैसा निकाल्न जाँदा बैंकले साची माग गरेको र साचीसहित जाँदा पनि चेक नसाटिएको गुनासो गरे।

बैंकका कर्मचारीले उनले लगेको चेक पनि काम नलाग्ने बताएका थिए। उनले बारम्बार बैंकको शाखामा सम्पर्क गरेपछि अघिल्लो दिन नसाटिने भनिएको चेकबाटै भोलिपल्ट बैंकका कर्मचारी ईशा श्रेष्ठको नेतृत्वमा घिमिरेको खाताबाट चेक साटेर उनको घरमा पुर्‍याइदिए ।

अपाङ्गता संरक्षण नेपालका बिरोध खतिवडाले दृष्टिबिहिनलाई बैंकले खाता सञ्चालन गर्न र बैंकिङ्ग कारोबार गर्न नदिने गरेको बताए । उनले खातावालाको अनुमति बिना बैंकका कर्मचारीले आफू खुसी चेक साट्न पाउँछ ? भन्दै प्रश्न समेत गरे । 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिकाको निर्देशन नम्बर २० मा वित्तीय ग्राहक संरक्षण तथा वित्तीय साक्षरता सम्बन्धी व्यवस्थाले पनि चलाउन सक्ने यकिन गरेर मोबाइल बैंकिङ सुविधा दिनुपर्ने व्यवस्था छ। राष्ट्र बैंककाे निर्देशिकामा भनिएकाे छ ,‘ स्थानीय तहमा ५ (पाँच) भन्दा बढी शाखा रहेका स्थानमा कम्तीमा एक शाखा र एटीएम लाउञ्ज भएका स्थानमा १ (एक) एटीएम अपाङ्गमैत्री बनाउनुपर्ने र अपाङ्गता भएका व्यक्तिलाई एटीएम, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग जस्ता वित्तीय सेवाहरू व्यक्ति स्वयमले उक्त सेवा उपयोग गर्न सक्षम रहेको यकिन गरी उपलब्ध गराउनुपर्ने व्यवस्था छ।’