केन्द्रीय बैंकद्वारा खुला बजार कारोबारसम्बन्धी कार्यविधिको संशोधन, स्थायी निक्षेप सुविधामा सहजीकरण

अबदेखि बैंक तथा वित्तीय संस्थाहरुले सातामा ३ पटक स्थायी तरलता सुविधा लिन पाउनेछन्। यसअघिसम्म यस्तो सुविधा २ पटक मात्रै लिने व्यवस्था थियो।


काठमाडौं – नेपाल राष्ट्र बैंकले ‘खुला बजार कारोबारसम्बन्धी कार्यविधिको पाँचौं संशोधन गरेको छ। राष्ट्र बैंक खुलाबजार कारोबारसम्बन्धी कार्यविधि (पाँचौं संशोधन, २०८१) , २०७८ अनुसार अबदेखि बैंक तथा वित्तीय संस्थाहरुले सातामा ३ पटक स्थायी तरलता सुविधा लिन पाउनेछन्। यसअघिसम्म यस्तो सुविधा बैंकहरुले २ पटक मात्रै लिने व्यवस्था थियो।

‘मौद्रिक नीतिका उद्देश्य प्राप्ति तथा वित्तीय स्थायित्वका लागि वित्तीय बजारमा ब्याजदर स्थिरता एवम् तरलताको वाञ्छित सीमा कायम राख्न खुला बजार कारोबार सञ्चालन गरी आवश्यक उपकरणहरूप्रयोग गर्न आवश्यक देखिएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (३) तथा नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली (चौथो संशोधन, २०८०), २०७८ को विनियम ३० ले दिएको अधिकार प्रयोग गरी यो कार्यविधि तयार गरिएको छ।’केन्द्रीय बैंकद्वारा जारी संशाेधनमा भनिएकाे छ।

नयाँ व्यवस्थाअनुसार यस्तो सुविधाको थप भएसँगै निक्षेप परिपक्वताकाे समय पनि घटेको छ। यसअघि आइतबार र बुधबार बैंकहरुले न्यूनतम २० करोड रुपैयाँ स्थायी निक्षेप सुविधा लिन पाउँथे। अब स्थायी निक्षेप सुविधा प्रत्येक आइतबार, मंगलबार र बिहीबार उपलब्ध गराइनेछ। उक्त दिन सार्वजनिक बिदा परे कार्यालय खुलेको अर्को दिन उपलब्ध गराइनेछ।

नयाँ व्यवस्थाअनुसार आइतबार प्रदान गरिएको सुविधा मंगलबार, मंगलबार प्रदान गरिएको सुविधा बिहीबार र बिहीबार प्रदान गरिएको सुविधा आइतबार परिपक्व भई भुक्तानी हुनेछ। तर, भुक्तानी मितिमा बैंक बिदा पर्ने अवस्थामा बिदाको अघिल्लो दिनमा भुक्तानी हुने गरी कम अवधिका लागि समेत प्रदान गरिने संशोधित कार्यविधिमा उल्लेख छ। साथै, अबदेखि स्थायी निक्षेप सुविधा लिन बैंक तथा वित्तीय संस्थाले तोकिएको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) र खुद तरलता अनुपात (नेट लिक्विड रेसियो) समेत कायम गर्नुपर्ने छैन।

यस्ता छन् स्थायी निक्षेप सम्बन्धी बुदाहरु :

  • स्थायी निक्षेप सुविधकाे न्यूनतम रकम रू. १० कराेड र साेभन्दा बढीकाे हकमा रू.५ कराेडले भाग गर्दा निःशेष रहने अंक हुनुपर्नेछ ।
  • स्थायी निक्षेप सुविधा प्रत्येक आइतबार, मंगलबार र बिहीबार प्रदान गरिने छ । उक्त दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेकाे दिनमा उपलब्ध गराइनेछ ।
  • आइतबार प्रदान गरिएकाे सुविधा मंगलबार, मंगलबार प्रदान गरिएकाे सुविधा बिहीबार र बिहीबार प्रदान गरिएकाे सुविधा आइतबार परिपक्व भइ भुक्तानी गरिने छ । तर भुक्तानी मितिमा बैंक बिदा पर्ने अवस्थामा बिदाकाे अघिल्लाे दिनमा भुक्तानी हुने गरी कम अवधिका लागि समेत प्रदान गर्न सकिनेछ ।
  • याे सुविधाकाे भुक्तानी मितिमा काबु बाहिरकाे परिस्थिति सिर्जना भइ वा आकस्मिक बिदाकाे कारणा कार्यालय खुल्न नसक्ने अवस्था आएमा तत्पश्चात् कार्यालय खुलेकाे दिन भुक्तानी गरिने छ । यसरी भुक्तानी गर्दा पूर्वनिर्धारित अवधिकाे मात्र ब्याज प्रदान गरिने छ।