‘ब्याड बैंक’ सञ्चालनमा ल्याउने तयारीमा राष्ट्र बैंक


काठमाडौं – खराब कर्जा व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ‘ब्याड बैंक’ अर्थात् सम्पत्ति व्यवस्थापन कम्पनी सञ्चालनमा ल्याउने तयारी गरेको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति व्यवस्थापन कम्पनी (एसेट म्यानेजमेन्ट कम्पनी) सञ्चालन गर्ने ऐनको मस्यौदा तयार भइरहेको बताएका हुन्।

पछिल्लो समय एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले ब्याड बैंक खोल्ने ऐनको ड्राफ्ट भइरहेको बताएका हुन्। गभर्नर अधिकारीले सामान्य कानुन वा कम्पनी रजिस्ट्रार कम्पनीमार्फत खुलेको ब्याड बैंक प्रभावहीन नहुने पनि बताए।

मौजुदा कानुनअनुसार ब्याड बैंक खुल्ने हो भने रियलस्टेट कम्पनी बन्ने भन्दै गभर्नर अधिकारीले विशेष क्षमताको एसेट म्यानेजमेन्ट कम्पनी बनाउने गभर्नरले दाबी गरेका थिए। विकसित मुलुकको उदाहरण दिँदै उनले एसेट म्यानजमेन्ट मात्रै नभएर एसेट रिकन्स्ट्रक्सन कम्पनी बन्नुपर्ने धारणा राखे।

‘ब्याड बैंक’ अर्थात् खराब बैंकको काम खराब सम्पत्तिलाई असल सम्पत्तिमा परिवर्तन गर्नै हो। खासगरी बैंकहरूमा हुने खराब कर्जाहरूलाई व्यवस्थापन गर्ने गरी ती बैंकको वासलातबाट त्यस्ता कर्जा हटाएर खराब कर्जाका कारण बिग्रिएको बैंकको वित्तीय स्वास्थ्यलाई स्वस्थ बनाउने प्रयास गर्नु नै ‘खराब बैंक’को उद्देश्य हो। त्यसैले यस्ता ‘खराब बैंक’ले अन्य बैंकहरूले जस्तो निक्षेप स्वीकार गर्ने र ऋण प्रदान गर्ने काम गर्दैन ।

विश्व बैंकिङ्ग इतिहासमा सबैभन्दा पहिला खराब बैंकको अवधारणालाई सबैभन्दा पहिले अमेरिकी ‘मेलन बैंक’ले लागू गरेकाे थियाे। यो बैंकले सन् १९८८ मा स्थापना गरेको ‘ग्रेट स्ट्रीट नेशनल बैंक’लाई खराब बैंकको एउटा राम्रो उदाहरणका रूपमा लिन सकिन्छ। यो ‘खराब बैंक’ले मेलन बैंकको १ अर्ब डलर बराबरको खराब कर्जालाई किनेको थियो। मेलन बैंकका शेयर होल्डरलाई पहिले शेयर र पछि लाभांशसमेत दिएर स्थापनाको ७ वर्षपछि उद्देश्यअनुरूपका सम्पूर्ण कार्यहरू सफल रूपमा सम्पन्न गरी सन् १९९५ मा यो बैंक विघटन गरिएको थियो।