कोरोनाका कारण क्रस बोर्डर भुक्तानीमा केही समय लागेको हो : सीईओ सापकोटा

कोरोनाका कारण क्रस बोर्डर भुक्तानीमा केही समय लागेको हो : सीईओ सापकोटा


काठमाडौं – फोन पेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवस कुमार सापकोटाले कोरोनाका कारण क्रस बोर्डर भुक्तानीमा केही समय लागेको बताएका छन्। नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४ को चौथो सत्र ‘नेपालमा डिजिटल इकोसिस्टम वर्तमान परिदृश्य र क्रस बोर्डर पेमेन्टका चुनौती’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले आफुहरुले पाउनुपर्ने विशेषाधिकार नपाएको बताए। सीईओ सापकाेटाले त्यो पाउनका लागि आफुले नीति निर्माताहरुलाई गर्नुपर्ने सहयोग गर्न तयार रहेको भन्दै स्वीकृति कुरेर बसिरहेको बताएका हुन्।

उनले एनपीसीआईसँग क्रस बोर्डर पेमेन्टको लागि ३ वर्षदेखि लगातार रुपमा काम गर्दै आएको बताए। उनले एनपीसीआईसँग सम्झौता पनि गरिसकेको बताए। सीईओ सापकाेटाले भारतबाट नेपाल आउने पर्यटकले एक दिनमा २ हजार भुक्तानी गर्न सक्ने व्यवस्था गरिसकेको पनि जानकारी दिए। उनले आफुहरुले सुरु गर्नुपूर्व ७/८ लाख मात्रै कारोबार हुने गरेको र हाल भने २४/२५ लाखको कारोबार हुन थालिसकेको जानकारी दिए।

उनले अबको ६ महिनाभित्र भारतको केन्द्रीय बैंकसँग सहकार्य गरेर भारतमा नेपालीले गर्ने भुक्तानी पनि सहज बनाउँने बताए। उनले नेपाल राष्ट्र बैंकले पनि क्रस बोर्डर पेमेन्टलाई फरक तरिकाले हेर्नुपर्ने धारणा राखे। उनले आजको दिनसम्म पनि एक दिनमा १ लाख एटिएमबाट पैसा निकाल्न सक्ने बताउँदै दिनमा १० हजार एटिएमबाट पैसा निकाल्न सक्ने र एक जना व्यक्ति भारत भ्रमणमा जाँदा २५ हजारको कारोबार सिट लिएर जान सक्ने जानकारी दिए। उनले आजै प्रस्ताव स्वीकारे पनि कारोबारमा जानसक्ने अवस्थामा आफुहरु रहेको बताए। सीईओ सापकाेटाले युपीआईको लागि कारोबारको फि निशुल्क गरिरहेको जानकारी दिँदै आफूहरुले सोचेको डाइरेक्सन ठिक छ कि छैन भनेर छलफल गर्न आवश्यक रहेको बताए।