काठमाडौं – केन्द्रीय बैंककाे पछिल्लो समयकाे तथ्यांकले घरजग्गा कारोबार बढ्दै गएको देखाएको छ। तथ्यांकले विशेषगरी कोशी, सुदूरपश्चिम र गण्डकी प्रदेशमा घरजग्गा कारोबार बढेको देखाएकाे हाे। कोशी प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययनमा घरजग्गा रजिस्ट्रेसन ३२.९ प्रतिशतले बढेको देखिएकाे छ। २०८०/८१ को अर्धवार्षिक प्रतिवेदनले घरजग्गा कारोबार बढेको देखाएको हो ।
घरजग्गाको कारोबार बढेसँगै मालपोत कार्यालयमा रजिस्ट्रेसन गर्नेको संख्या पनि बढेको छ। यस मार्फत राजस्वमा १६.१ प्रतिशतले वृद्धि भएको देखिन्छ। यो अवधिमा सरकारले १ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्वमा ५५ प्रतिशतले कमी भई १ अर्ब ३ करोड रुपैयाँ मात्रै राजस्व परिचालन भएको थियो।
केन्द्रीय बैंककाअनुसार रियल स्टेट र हाउजिङ दुवैमा बैंकहरूको लगानी बढेको र घरजग्गामा कर्जा प्रवाह बढिरहेको छ। कुल कर्जा प्रवाहको १३ प्रतिशत कर्जा आवासीय व्यक्तिगत घरकर्जा र अन्य घरजग्गामा प्रवाह भइरहेको छ।
चालु आवको वैशाखसम्ममा बैंकहरूले कुल ५१ खर्ब १२ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह गरेकोमा व्यक्तिगत र यस बाहेकका घरजग्गा कर्जामा मात्रै ६ खर्ब ३८ अर्ब ३० करोड ६७ लाख प्रवाह भएको केन्द्रीय बैंककाे तथ्यांकले देखाँउछ।



About Us
प्रतिक्रिया