काठमाडौं– अर्थमन्त्री वर्षमान पुनको आर्थिक सल्लाहकार एवम् अर्थशास्त्री सूर्य बहादुर थापाले वित्तीय क्षेत्रमा केहि अराजकता आउनु अर्थतन्त्रको लागि स्वभाविक नभएको बताएका छन्। बैंकिङ्ग समाचारको आयोजनामा भएको नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४ को पहिलो सत्र ‘बैकिङ्ग क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँगको अपेक्षा’ मा बोल्दै अर्थशास्त्री थापाले यस्तो बताएका हुन्।
कार्यक्रममा बोल्दै उनले भने, ‘वित्तिय क्षेत्रमा केही अराजकता आउनु स्वभाविक होइन। केही उद्यमीहरूले बैंकबाट लिएको रिण तिर्दैनौ भनेर विभिन्न माध्यमबाट अभिव्यक्ति दिइएको सत्य हो । यो कुरा अर्थमन्त्रालयलाई पनि जानकारी छ, यसमा अर्थमन्त्रालयले गम्भिर रुपमा समाधानको बाटो खोजिरहेको छ र समन्वय पनि भइरहेको छ।’
पछिल्लो समय बैंकबाट लिइएको कर्जामा केही उद्यमीहरुले ऋण नतिर्ने र बैंकहरुलाई नै गलत भनिरहँदा बैंकिङ्ग क्षेत्र वा सम्पूर्ण अर्थतन्त्र माथि नै प्रश्न उठिरहेको उनको भनाई छ। यस्तो वातावरणले बैंकिङ्ग क्षेत्र प्रति अविश्वास पैदा हुँदै गइरहेको भन्दै नयाँ उद्यमीहरुको मनोबलमा नकारात्मक असर परिरहेको उनको दाबी छ।
वित्तिय क्षेत्रमा आउने गरेको हरेक समस्याको समाधानको लागि अर्थमन्त्रालय मात्र नभएर नेपाली जनता, सरकार, राजनीतिक दलहरूले पनि समन्वय गरि समस्याहरूको समाधान गर्न अहम भूमिका निर्वाह गर्न आवश्यक रहेको उनको धारणा छ।‘अहिले वित्तिय क्षेत्रमा केही उद्यमीहरुको कारण नागरिकहरूको मनस्थितिमा बैंकबाट लिइएको को रिण तिर्नु पदैन भन्ने भ्रममा परिरहेको अवस्था वा पूर्ण बैंकिङ्ग क्षेत्र नै गलत भन्ने खबर फैलिरहेको अवस्थामा अर्थमन्त्रालय बेखबर भने छैन’ उनले भने, ‘यस्ता समस्याको लागि अर्थमन्त्रालयले छिट्टै समाधान निकाल्ने कुरामा विश्वस्त छौं।’
थापाले देशको अर्थतन्त्र वर्तमान अवस्थामा आउनुमा सम्पूर्ण पक्ष जिम्मेवार रहेको बताएका छन्। अर्थतन्त्र हालको अवस्थामा आउनुमा राष्ट्र बैंक, सरकार, निजी क्षेत्रलागायत सबैको भूमिका रहेको बताएका हुन् । थापाले भने, ‘अर्थतन्त्र अहिलेको अवस्थामा आउनुमा कुनै एक पक्षलाई मात्र दोष लगाउन मिल्दैन, यसमा सरकारी निजी क्षेत्र समग्र पक्षको भूमिका बराबर छ, सबै मिलेर हालको समस्याको समाधान गर्नुपर्छ।’
प्रतिक्रिया