काठमाडौं – ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट २५ मिलियन डलर (३ अर्ब ३३ करोड) ऋण लिने भएको छ । ऋण लिन सम्बन्धी सम्झौतामा ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरेका हुन्।
यो ऋण लघु, साना तथा मझौला उद्यमहरुलाई वित्तीय पहुँच बढाउन, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्न र महिलाहरुद्वारा सञ्चालित व्यवसायहरुको क्षमता अभिवृद्धि गर्न परिचालन गरिने जनाइएको छ। लघु, साना तथा मझौला उद्यमको संख्या नेपालमा दर्ता कुल व्यवसायको ९५ प्रतिशतभन्दा बढी रहेको छ भने यसले ४५ प्रतिशतभन्दा धेरै रोजगारी सृजना गरेको छ।
‘यो ऋण सम्झौताले दिगो विकास लक्ष्य हासिल गर्न र जलवायु तथा लैंगिक वित्तमार्फत त्यस क्षेत्रमा देखिएको स्रोतको अभावलाई परिपूर्ति गर्न महत्वपूर्ण सहयोग गर्नेछ । साथै, नेपालमा हरित ऊर्जा क्षेत्रको स्रोत अभावलाई सम्बोधन गर्दै महिलाहरुलाई आर्थिकरुपमा सशक्त बनाउन सहयोग गर्नेछ,’ ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले भने।
यसैगरी, ओपेक फण्डका अध्यक्ष अल्खलिफाले यो फण्डले नेपालमा साना, मझौला तथा लद्युउद्यम क्षेत्रमा देखिएको लगानीको अभावलाई परिपूर्ति गर्न भूमिका खेल्ने विश्वास व्यक्त गरे। साथै, उनले उक्त क्षेत्रले दिगो आर्थिक विकास तथा जलवायु परिवर्तन सामान गर्ने क्षमता वृद्धि गर्न भूमिका निर्वाह गर्ने भएकाले यस क्षेत्रमा लगानी उपलब्ध गराउन पाउँदा आफू हर्षित भएको बताए। ओपेक फण्डले दिगाे विकास केन्द्रित अभियानमा नेपालसँग लामाे समयदेखि सहकार्य गर्दै आएको पनि उनले उल्लेख गरे।



About Us
प्रतिक्रिया