बैंकिङ्ग क्षेत्र आफैमा पूर्ण क्षेत्र होइन : अध्यक्ष श्रेष्ठ

बैंकिङ्ग क्षेत्र आफैमा पूर्ण क्षेत्र होइन : अध्यक्ष श्रेष्ठ


काठमाडौं– नेपाल डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष सुयोग श्रेष्ठले बैंकिङ्ग क्षेत्र आफैमा पूर्ण क्षेत्र नभएको बताएका छन् । दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४ लाई सम्बोधन गर्दै उनले बैंकिङ्ग क्षेत्र देशको अर्थतन्त्र कस्तो छ ?, विजनेश कस्तो छ ?, व्यवसायीहरुको मानसिकता कस्ता छन् जस्ता कुराहरुमा निर्भर हुने बताएका हुन् ।

उनले तरलता सहज हुँदा हुँदै पनि ऋण प्रवाह नहुनुमा बैंकहरुको मात्रै दोष नभएको बताएका छन् । उनले बैंकिङ्ग क्षेत्रले विभिन्न किसिमका चुनौतीहरुको सामना गरिरहेको समयमा बैंकिङ्ग क्षेत्रलाई कसरी अगाडी बढाउँने भन्ने कुरामा अन्योल सिर्जना भएको अवस्थामा यस्ता डिस्कोर्स आयोजना भएको भन्दै यस्ता कार्यक्रमबाट नीति निर्माताहरुले नै पनि केही नयाँ कुरा सिक्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

‘हामीले आफूले पनि क्रिटिकल्ली रुपमा हाम्रो समस्या के हुन् र त्यो समस्या समाधानका लागि हामीले के गर्न सक्छौं र कस्तो भूमिका खेल्न सक्छौं भन्ने कुुराहरु यो कार्यक्रमा आइसकेपछि बुझ्ने विश्वास लिएका छौं’ उनले भने, ‘हामी बैंकिङ्ग सेक्टर र विजनेश सेक्टर दुवै एक अर्काका परिपूरक हौं ।’ उनले बैंकर र व्यवसायीको सम्बन्ध निकै घनिष्ट हुनुपर्ने भन्दै बैंकर र व्यवसायीबीचको सम्बन्धमा केही समस्या आए अघि बढ्न समस्या हुने बताए । उनले इक्विटी बढ्दै गएको पनि बताए ।

अध्यक्ष श्रेष्ठले बैंकिङ्ग क्षेत्रको तरलता सधै एकै किसिममा नरहने भन्दै तरलता कम हुँदा अतालिने गरेको जानकारी गराए । उनले पहिले तरलता कम भएको कुरा सुन्दै आएको तर पछिल्लो समय भने तरलता अत्यधिक भएको बताए । उनले पछिल्लो समय विदेशिनेको संख्या बढ्दै गएको भन्दै बैंकिङ्ग क्षेत्रलाई पनि यसले प्रभाव पारिरहेको बताए । उनले यसरी युवाहरुको विदेशिने क्रमलाई नरोक्ने हो भने बैंकहरुलाई चाहिने मानव संसाधनमा पनि चुनौती सिर्जना हुने बताए ।