काठमाडौं – माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले नेपाल राष्ट्र बैंक र बैंकहरुले मात्रै लागनी गरेर वित्तीय साक्षरताको दर बढाउन नसक्ने बताएका छन् । नेशनल बैंकिङ्ग डिस्कोर्स २०२४ को दोस्रो सत्र ‘वित्तीय साक्षरतामा लगानी र यसको सामाजिक प्रभाव तथा वर्तमान स्थिति’ लाई सम्बोधन गर्दै उनले बैंकहरुले मात्रै वित्तीय साक्षरतामा लगानी गरेर ५७ प्रतिशत रहेको वित्तीय साक्षरताको दर ९० प्रतिशत बनाउन नसक्ने बताएका हुन्।
उनले वित्तीय साक्षरतामा नेपाल राष्ट्र बैंक र बैंकहरुले मात्रै काम गरेर पुग्छ भन्ने भ्रमबाट मुक्ति लिनुपर्ने बताए। उनले यसमा स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार, नेपाल राष्ट्र बैंक र हरेक सरोकारवालामा छलफल आवश्यक रहेको भन्दै साक्षरताका कार्यक्रम एकआपसमा हातेमालो गर्दै अगाडी बढाउँनुपर्ने औंल्याए। उनले यसो गर्दा ४/५ वर्षभित्रमा एक लेभलको वित्तीय साक्षरता फैलिने बताए।
वित्तीय साक्षरतामा गरेको लागनी ५ प्रतिशत प्रर्याप्त छ कि छैन भनेर बुझ्न पहिले वित्तीय साक्षरतामा गरेको लागानी कत्तिको प्रभावकारी भयो भनेर बुझ्नुपर्ने उनको धारणा छ। उनले नेपाल भौगोलिक दृष्टिकोणले तराई, पहाड र हिमाल भएकाले कतिपय ठाउँमा वित्तीय साक्षरताका कार्यक्रमहरु सञ्चालन गर्न पनि कठिन भएको जानकारी दिए। ‘हिमाली भेगमा वित्तीय साक्षरताका कार्यक्रम गर्न एकदमै खर्चिलो छ र त्यहाँ गएर कार्यक्रम गर्न सजिलो पनि छैन।’ उनले भने, ‘बैंक तथा वित्तीय संस्थाहरुले राज्यका विभिन्न तह र तप्काहरुसँग मिलेर राज्यको वित्तीय साक्षरतासँग सम्बन्धीत कार्यक्रम गर्न सकिन्छ।’
सीईओ कोइरालाले कोभिडपछि नेपालको बैंकिङ्ग क्षेत्र डिजिटाइजेसन हुँदै गएको बताउँदै डिजिटल भएसँगै वित्तीय साक्षरताका कमीका कारण विभिन्न घटनाहरु घटेका कुरा आइरहेको भन्दै त्यसलाई न्युनिकरण गर्न ५ प्रतिशत मात्र नभई वित्तीइ साक्षरतामा केही लगानी बढाउँनु पर्ने बताए । उनले बैंकले ५ प्रतिशत सिएसआरको बजेट खर्च गरेर मात्रै वित्तीय साक्षरता पुग्छ भन्न नहुँने बताए । उनले विद्यालयको पाठ्यक्रममा नै पनि वित्तीय साक्षरताको विषय उठान गर्नुपर्ने उल्लेख गरे । उनले वित्तीय साक्षरता नहुँने हो भने कुनैपनि किसिमका विषयमा काम गर्ने परिकल्पना पनि गर्न नसकिने बताए।
सीईओ कोइरालाले वित्तीय साक्षरताका कार्यक्रमहरु सञ्चालन गर्न व्यापक चुनौती भएको बताएका छन्। उनले वित्तीय साक्षरताका कार्यक्रममा बैंक, राष्ट्र बैंक र सरकारले नै सिकाएको कुरालाई भन्दा आफ्नो ठाउँका मान्यगुन्य मान्छेको विश्वास गरेको देखिदै आएको अभिव्यक्त गरे । उनले कतिपय घटनाहरु समाजका प्रतिष्ठित व्यक्तिहरुका कारण घटेको पनि उल्लेख गरेका छन्। उनले समाजका प्रतिष्ठित व्यक्तिहरुलाई निकै राम्रोसँग वित्तीय साक्षरता दिने हो भने गाउँमा बस्ने सबैलाई साक्षर बनाउन सकिने धारणा व्यक्त गरे । उनले वित्तीय साक्षरताका कार्यक्रमहरु टार्गेट ग्रुपसम्म पुग्न सकेको छ भन्नेमा आफु विश्वस्त नहुँने धारणा व्यक्त गरे। सीईओ कोइरालाले कतिपय ठाउँहरुमा वित्तीय साक्षरताका कुरामा विशेष ध्यान दिन आवश्यक भएको उल्लेख गरे। उनले सरकारी लेभलमा पनि साक्षरताको लेभल निकै कम रहेको बताँउदै बैंकले साक्षरताको कुरा गरेर मात्रै साक्षर नहुने दाबी गरे।
प्रतिक्रिया