अब हरेक काम घरबाटै, बैंक धाउनै पर्दैन 

अब हरेक काम घरबाटै, बैंक धाउनै पर्दैन 


प्रविधिको विकाससँगै हरेक क्षेत्र प्रविधिमैत्री बन्दै गइरहेको छ । अर्थात हरेक क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गइरहेको छ । हरेक कामकाज घरबाटै विस्तारामा सुती सुती हुने भएपछि प्रयोगकर्ता तथा उपभोक्ताहरु पनि यसमा घुलमिल हुन थालेका छन् । हातहातमा स्मार्टफोन र इन्टरनेटको सुविधा भएपछि जुनसुकै स्थान र समयबाट ठूलाठूला कारोबारहरु गर्न सम्भव भएको छ । कर तिर्न, मोबाइल रिचार्ज गर्न, विजुली, पानी, बत्ती, टेलिफोन लगायतको बिल भुक्तानी गर्न, हवाइजहाज, बस, सिनेमा लगायतको टिकट बुकिङ गर्न लगायत हरेक काम मोबाइलबाट तुरुन्तै गर्न सकिने भएको छ ।

अहिले आफूले जागीर गरेको तलब हातमा थापिरहनु पर्दैन, सीधै बैंकमा जम्मा हुन्छ । शेयर खरिद गर्नका लागि घन्टौँ लाइन बस्नुपर्ने समस्या पनि छैन । सीधै अनलाइनबाट शेयर खरिदविक्री गर्न सकिन्छ । बैंक खाता खोल्नका लागि समेत बैंकसम्म धाउनु पर्ने छैन । बैंकहरुले अनलाइनबाटै खाता खोल्न मिल्ने सुविधा ल्याएका छन् । एउटा बैंक खाताबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्न पनि बैंक जानुपर्दैन । हरेक सामानको किनमेल पनि  पनि अनलाइनबाट गर्न सकिन्छ । मोबाइल वालेटबाट रकम भुक्तानी गर्दा अझ छुट पनि पाइने व्यवस्था छ । इन्टरनेटको व्यवस्था भएपछि मोबाइलमा सबै सेवा सुविधा अटाएका छन् ।
 

बैंक मात्र हैन प्रयोग गर्न जाने सींगो अर्थतन्त्र नै मोबाइलमा अटाउँछ । अनलाइनबाट शिक्षा लिन सकिन्छ, स्वास्थ्य सम्बन्धी जानकारी लिन सकिन्छ । अनलाइन क्लासहरु उपलब्ध हुन्छन् । सरकारी जागीरका लागि अनलाइनबाटै एप्लाई गरी रकम भुक्तानी गर्न सकिने व्यवस्था छ ।

यद्यपि, आफूले चाहेजति रकमको कारोबार गर्न सकिन्छ भन्ने हुँदैन । कारोबारको सुरक्षाका निम्ति राष्ट्र बैंकले एटिएममा जस्तै यस्ता कारोबारहरुमा पनि अधिकतम र न्युनतम सीमा निर्धारण गरिदिएको हुन्छ ।

मोबाइल बैंकिङमा के छ मापदण्ड ?

मोबाइल बैंकिङबाट प्रतिदिन अधिकतम ५० हजार रुपैयाँसम्मको कारोबार गर्न पाइन्छ भने मासिक दुइृ लाख रुपैयाँसम्मको कारोबार गर्न पाइन्छ । कारोबारको बिल वा विवरण प्राप्त हुने अवस्थामा भने बढी कारोबार पनि गर्न पाइन्छ । क्यूआर कोडको माध्यमबाट भुक्तानी तथा रकमान्तर गर्दा पनि यही व्यवस्था लागू हुन्छ ।

इन्टरनेटबाट १० लाखसम्म

इन्टरनेट बैंकिङबाट एक दिनमा १० लाख रुपैयाँसम्म र मासिक अधिकतम ३० लाख रुपैयाँसम्मको कारोबार गर्न पाइन्छ । यस माध्यमबाट बैंक तथा वित्तीय संस्थाहरूको खातामा ट्रान्सफर गर्दा प्रतिदिन अधिकतम १० लाख रुपैयाँसम्मको कारोबार गर्न पाइन्छ भने मासिक रूपमा अधिकतम ५० लाख रुपैयाँभन्दा बढीको ट्रान्सफर गर्न पाइँदैन । कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा भने जति पनि रकम रकमान्तर गर्न सकिन्छ ।

मोबाइल वालेटमा एक लाख

मोबाइल वालेटमा बैंक खाताबाट मासिक पाँच लाख र एक दिनमा एक लाख रुपैयाँसम्म ट्रान्सफर गर्न पाइन्छ । वालेटबाट अन्य बैक वा अर्को वालेटमा प्रतिदिन २५ हजार र मासिक ५० हजार रुपैयाँसम्मा ट्रान्सफर गर्न सकिने व्यवस्था गरिएको छ ।

सरकारलाई तिर्ने रकम

नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन तथा सेवा शुल्क जस्ता विविध शुल्कहरूको हकमा सीमाले बाधा पुग्दैन । यस्ता शूल्कहरु बीलअनुसार मोबाइल बैंकिङबाट भुक्तानी गर्न सकिन्छ । नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार सेवा प्रदायक संस्थाहरू, खानेपानी सेवा, शिक्षण संस्था, स्वास्थ्य संस्था, हवाई सेवा, यातायात सेवा, होटल तथा रेस्टुरेन्ट सेवा, सामाजिक सुरक्षा भत्ता, बिमा प्रिमियम, धितोपत्रसम्बन्धी कारोबारलगायत सेवाको आवधिक रूपमा भुक्तानी गर्नुपर्ने शुल्कहरूमा पनि सीमा तोकिएको छैन । यसरी भुक्तानी गरिएको रकमको विवरण अद्यावधिक गरी राख्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रविधिको विस्तारले कारोबार गर्न सहज र छिटो हुनुका साथै पारदर्शीता पनि बढेको छ । प्रयोग गर्न नजान्दा केही अप्ठ्याराहरु पनि छन् । तर, सदुपयोग गर्न जान्ने हो भने प्रविधिले मानव जीवनमा निकै सुविधा ल्याएको छ । घरमै बसीबसी सम्पूर्ण कारोबार गर्न सकिने वातावरण बनेको छ ।