बैंकिङ्ग डिस्कोर्स २०२४ : रेमिट्यान्स सम्बन्धी सत्रको वक्तामा राष्ट्र बैंकका निर्देशक गुरुप्रसाद पौडेल

बैंकिङ्ग डिस्कोर्स २०२४ : रेमिट्यान्स सम्बन्धी सत्रको वक्तामा राष्ट्र बैंकका निर्देशक गुरुप्रसाद पौडेल


काठमाडौं – दोस्रो नेशनल बैकिङ्ग डिस्कोर्स २०२४ मा वक्ताका रुपमा नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल सहभागी हुने भएका छन्। छलफलको चौथो सत्र ‘सामाजिक आर्थिक विकासका लागि रेमिट्यान्सको दिगो उपयोगीता र आगामी दिशानिर्देश’ शिर्षकमा वक्ताका रुपमा पौडेल सहभागी हुने भएका हुन्।

नेपाल राष्ट्र बैंकमा २१ वर्षभन्दा बढीको अनुभव भएका पौडेल सन् २००२ मा सहायक निर्देशक पदमा प्रवेश गरेका थिए । २१ वर्षको अवधिमा नेपाल राष्ट्र बैंकका विभिन्न विभागमा कार्यरत रहेर हाल बैंक तथा वित्तीय संस्था नियमन विभागको कार्यकारी निर्देशकका रुपमा रहेका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट दर्शनशास्त्रमा एमफिल र व्यवसाय प्रशासनमा स्नातकोत्तर गरेका छन् । आफ्नो अनुभव र ज्ञान बढाउनका लागि उनले अन्तर्राष्ट्रिय स्तरमा धेरै तालिम र सेमिनारमा भाग लिएका छन् ।
बैकिङ्ग समाचार डटकमको आयोजना तथा ग्लोबल आईएमई बैंकको मुख्य प्रायोजन तथा फोन पेको सहप्रायोजनमा असार ११ गते दोस्रो नेशनल बैंकिङ डिस्कोर्स २०२४ आयोजना हुने भएको हो ।

कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीद्वारा गरिनेछ। साथै, कार्यक्रमको विशेष सत्रमा छलपलका लागी अर्थमन्त्री वर्षमान पुनको उपस्थिती रहने उक्त कार्यक्रममा नियामकीय निकाय, बैंक तथा वित्तीय क्षेत्र, सञ्चार क्षेत्र तथा सूचना प्रविधी क्षेत्रका विज्ञ तथा अन्य क्षेत्रका ब्यक्तीत्वहरुको उपस्थिीति रहने छ। मुख्य रुपमा बैकिङ्ग क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँगको अपेक्षा, वित्तीय साक्षरतामा लगानी र यसको सामाजिक प्रभाव तथा वर्तमान स्थिति, नेपालमा डिजीटल इकोसिस्टमको वर्तमान परिदृश्य तथा क्रस बोर्डर डिजीटल भुक्तानीका चुनौतीहरु, सामाजिक आर्थिक विकासका लागि रेमिट्यान्सको दिगो उपयोगीता र आगामी दिशानिर्देशका बारेमा छलफल हुने छ। दोस्रो नेशनल बैकिङ्ग डिस्कोर्स २०२४ ले बैकिङ्ग क्षेत्रका समस्याहरुको समाधान खोज्न र नेपालमा बैकिङ्ग प्रणालीलाई सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।