यो साता शेयर बजारका लागि कस्तो रह्यो ?

यो साता शेयर बजारका लागि कस्तो रह्यो ?


काठमाडौं – अघिल्लो साता बजेटको प्रभाव बाँकी नै रहँदा खस्किएको शेयर बजारमा यो साता भने केही उत्साहजनक अवस्था सिर्जना भयो। साताको पहिलो कारोबारको दिन घटेको शेयर बजारमा साताको दोस्रो दिन झिनो सुधार देखियो । साताको तेस्रो कारोबारको दिन मंगलबार भने शेयर बजारमा हरियाली छाएको थियो। लामो समयपछि परिसूचक समेत २१ सय बिन्दु माथि उक्लिएको थियो। नीतिगत अस्थिरताले थिचिएको शेयर बजार बताउँदै आएको लगानीकर्ताका लागि गर्भनर महाप्रसाद अधिकारीले सकारात्मक सन्देश दिदा मार्केटमा रौनक छाएको थियो। गर्भनर अधिकारीले सार्वजनिक कार्यक्रममा नै मौद्रिक नीति खुुकुलो आउने बताएका थिए। जसको सकारात्मक प्रभाव पुँजी बजारमा पर्याे।

साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजारमा गिरावट आएको थियो। त्यसदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.५९ अकंले घटेर २०७९.१९ बिन्दुमा बन्द भएको थियाे। आइतबार ३१३ कम्पनीको १ करोड ४ लाख ५२ हजार १२८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५२२ रुपैयाँको कारोबार भएको थियो। बजार ओरालो लागेपनि त्यसदिन पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको थियो । आइतबार इस्र्टन हाइड्रोपावर, शुभम पावर, सिटि होटल, कुथेली बुखेरी स्मल हाइड्रोपावर र भगवति हाइड्रोपावरको शेयरमा सर्किट लागेको थियो। आइतबार आठ उपसूचक राताम्य भएका थिए। त्यसदिन बैंकिङ्ग समूहको ०.९६ प्रतिशत, विकास बैंक समूहको ०.५९ प्रतिशत, फाइनान्स समूहको ०.९१ प्रतिशतले शेयर मूल्य घटेको थियो।

आइतबार घटेको शेयर बजार साताको दोस्रो कारोबारको दिन सोमबार बजार एकल अकंले बढेको थियो। त्यसदिन नेप्से ८.९० अकंले बढेर २०८२.०९ बिन्दुमा बन्द थियो। सोमबार ३१४ कम्पनीको १ करोड १६ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड ६ लाख रुपैयाँको कारोबार भएको थियो। त्यसदिन तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको थियो।

आइतबार र सोमबार खासै उत्साह नदेखिएको शेयर बजारमा साताको तेस्रो कारोबारको दिन मंगलबार भने हरियाली छाएको थियो। लामो समयपछि परिसूचक समेत २१ सय बिन्दु माथि उक्लिएको थियो। नेप्से ३३.१५ अकंले बढेर २११५.२४ बिन्दुमा बन्द भएको थियो । त्यसदिन ३११ कम्पनीको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार रुपैयाँको शेयर कारोबार थियो। मंगलबार जीवन बीमा कम्पनीको समूहको २.४० प्रतिशत, निर्जीवन बीमा समूहको २.१९ प्रतिशत, फाइनान्स समूहको २.१६ प्रतिशत, हाइड्रोपावर समूहको २.५८ प्रतिशत, व्यापार समूहको २.१२ प्रतिशतले शेयर मूल्य बढेको हो। मंगलबार पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको थियो।

मंगलबार हरियाली छाएको शेयर बजारमा साताको चौथो कारोबारको दिन बुधबार समेत सकारात्मक यात्राले निरन्तरता पाएको थियो। नेप्से ६.३७ अकंले बढेर २१२१.६२ बिन्दुमा बन्द भएको थियो। बुधबार ३१२ कम्पनीको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार रुपैयाँको शेयर कारोबार भएको थियो। बुधबार ९ कम्पनीको शेयरमा हरियाली आएको थियो। त्यसदिन वाणिज्य बैंक समूहको ०.८३ प्रतिशत, विकास बैंक समूहको ०.११ प्रतिशत, फाइनान्स समूहको १.०७ प्रतिशतले शेयर मूल्य बढेको थियो । त्यसदिन चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको थियो।

साताको अन्तिम कारोबारको दिन बिहीबार तीनको दिनको उकालो यात्रामा ब्रेक लगाउँदै शेयर बजार घटेको थियो। त्यसदिन नेप्से ९.३२ अकंले घटेर २११२.२९ बिन्दुमा बन्द भएको थियो। बिही बार ३१३ कम्पनीको १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४४ करोड ३० लाख २९ हजार रुपैयाँको कारोबार भएको थियो। त्यसदिन ११ उपसूचक राताम्य भएका थिए। बिहीबार विकास बैंक समूहको १.३१ प्रतिशत र फाइनान्स समूहको २.०३ प्रतिशतले शेयर मूल्य बढेको थियो। अन्य उपसूचक भने राताम्य भएका हुँदा तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको थियो।

समग्रमा यो साता शेयर बजारका लगानीकर्ताहरुका लागि उपलब्धिमूलक नै रह्यो। गत साता बजेटले घटाएको लगानीकर्ताको मनोबलमा यो साता भने केही उत्साह छाएको देखियो। यो साता २०७९ दशमलव १९ को बिन्दुबाट सुरु भएको बजार २११२.२९ बिन्दुमा पुगेको थियो। कारोबारको अन्तिम दिनसम्म आइपुग्दा यो साता शेयर ३३.१ अंकको हाराहारीमा बढेको थियो। अघिल्लो साता शेयर ६ अंकको हाराहारीमा घटेको थियो।