काठमाडौं – असार महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। वाणिज्य बैंकहरुले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गर्दै असारका लागि नयाँ ब्याजदर तोकेका हुन्। जेठमा ब्याजदर घटाएका वाणिज्य बैंकहरुले असारमा पनि ब्याजदर घटाएका छन्। अहिलेसम्म १० वटा वाणिज्य बैंकहरुले सार्वजनिक गरेको ब्याजदरको सूचना अनुसार ६ वटाले ब्याजदर घटाएका छन् भने ३ वटाले जेठ महिनाकै ब्याजदर कायम गरेका छन्। एउटा बैंकले भने ब्याजदर बढाएकाे छ।
वाणिज्य बैंकमध्ये एनआईसी एशिया, सिटिजन्स, एभरेष्ट, कुमारी, सानिमा र ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र कृषि विकास बैंकले जेठकै ब्याजदरलाई असारमा निन्तरता दिएका छन्। नेपाल बैंकले भने ब्याजदर बढाएको छ।
असारमा व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर एनआईसी एशियाले ७.६९ प्रतिशत, सिटिजन्सले ६.९ प्रतिशत, एभरेष्टले ५.७५ प्रतिशत, कुमारीले ६.५६ प्रतिशत, सानिमाले ६.८ प्रतिशत र ग्लोबल आइएमईले ६.५ प्रतिशत कायम गरेका छन्। जेठमा व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर एनआईसी एसियाले ७.८ प्रतिशत, सिटिजन्सले ७ प्रतिशत, एभरेष्टले ६.५ प्रतिशत, कुमारीले ७.२६ प्रतिशत, सानिमाले ६.९ प्रतिशत र ग्लोबल आइएमईले ७.५ प्रतिशत कायम गरेका थिए। नेपाल बैंकले भने असारमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर बढाएर ६.७५ पुर्याएको छ। जेठमा ६.३९ प्रतिशत थियो।



About Us
प्रतिक्रिया