वित्तीय चेतनाका लागि राष्ट्र बैंककाे सन्देश, अनुदान र सुविधाको सही उपयोग गरौं

राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह गरिएका सहुलियतपूर्ण कर्जाको ७ प्रतिशत रकम दुरुपयोग भएको जनाएको छ।


काठमाडौं – केन्द्रीय बैंकले अनुदान र सुविधाको सही उपयोग गर्न आग्रह गरेको छ। बैंकले मंगलबार वित्तीय चेतनाका लागि सन्देश जारी गर्दै अनुदान र सुविधाकाे सही उपयोग गर्न आग्रह गरेको हो। नेपाल सरकारले लागू गरेको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ अनुसार विभिन्न १० शीर्षकमा बैंक तथा वित्तीय संस्थामार्फत लक्षित वर्गमा सहुलियतपूर्ण कर्जा प्रवाह हुँदै आएको छ। उक्त कार्यविधिबमोजिम सहुलियतपूर्ण कर्जा प्रदान गर्न विभिन्न सर्त तथा मापदण्ड तोकिएको छ। राष्ट्र बैंकका अनुसार २०८० चैत मसान्तसम्म १ लाख २७ हजार २१२ जना ऋणीले १ खर्ब ४० अर्ब ५० करोड रुपैयाँबराबरको सहुलियतपूर्ण कर्जा उपभोग गरिरहेका छन्।

यस प्रकारका सहुलियतपूर्ण कर्जा साथै पुनरकर्जा र व्यावसायिक निरन्तरता कर्जाको प्रभावकारिता तथा उपयोगको निर्क्योल गर्न स्वतन्त्र परामर्शदाताबाट अध्ययन गराइएकोमा ३१ हजार ६७४ ऋणीको फाइल अध्ययन गरी परामर्शदाताबाट प्राप्त प्रतिवेदनमा करिब ७ प्रतिशत कर्जा सदुपयोग नभएको तथ्यांक पेस हुन आएको केन्द्रीय बैंकले जनाएको छ।

सदुपयोग नभएका कर्जाको सम्बन्धित बैंक तथा वित्तीय संस्थामार्फत यकिन गराई ब्याज अनुदान तथा सुविधा फिर्ता गराउने एवं यस्तो कार्यमा प्रत्यक्ष रुपमा संलग्न भएका बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सम्बन्धित संस्थाबाट विभागीय कारबाही गर्ने लगायतका कारबाहीको प्रक्रिया अगाडि बढाउन मिति २०८० माघ १० मा राष्ट्र बैंकको सञ्चालक समितिबाट निर्णय भएको थियो। साे प्रतिवेदन र निर्णय कार्यान्वयनका लागि सम्बन्धित सुपरिवेक्षण विभागमार्फत आवश्यक प्रक्रिया अगाडि बढाइएकाे केन्द्रीय बैंकले जनाएकाे छ।