काठमाडौं – नेपालको ४६ प्रतिशत जनसंख्या बैंकिङ्ग सुविधाबाट वञ्चित भएको तथ्यांक सार्वजनिक भएको छ। साउथ एशिया रिजन फाइनान्सियल इन्क्लुजन इनिसिएटिभ्सले तयार गरेको पेमेन्ट इनोभेसन एण्ड रिक्स इन साउथ एशिया प्रतिवेदनले नेपालका ४६ प्रतिशत जनसंख्या बैंकिङ्ग सुविधाबाट वञ्चित भएको उल्लेख गरेको हो। ४६ प्रतिशतमा नागरिक बैंकिङ्ग पहुँच बाहिर रहेकोमा २५.०५ प्रतिशत महिला र २०.९५ प्रतिशत पुरुष रहेको प्रतिवेदनले उल्लेख गरेको छ।
राष्ट्र बैंकको पछिल्लो अध्ययनले नेपालमा झण्डै ४० प्रतिशत नागरिक बैंकिङ्ग सुविधाबाट वञ्चित भएको देखाउछ। तर, उक्त प्रतिवेदनले ४६ प्रतिशत नागरिक बैंकिङ्ग सेवाबाट वञ्चित भएको देखाएको छ।
राष्ट्र बैंकले उक्त प्रतिवेदन गत शुक्रबार सार्वजनिक गरेको थियाे। जसअनुसार दक्षिण एशियामा बंगलादेशमा सबैभन्दा धेरै बैंकिङ्ग पहुँचबाट वञ्चित रहेका छन्। तथ्यांकअनुसार बंगलादेशमा ४७.२ प्रतिशत ,भारतमा २२.५ प्रतिशत, श्रीलंकामा १०.७ प्रतिशतमात्रै नागरिक बैंकिङ्ग सुविधाबाट वञ्चित छन्।
यसैगरी, दक्षिण छिमेकी मुलुक भारतमा २२.५ प्रतिशत नागरिक बैकिङ्ग पहुँच बाहिर रहेकामा ११.३ प्रतिशत पुरुष र ११.२ प्रतिशत महिला रहेकाे प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनले दक्षिण एशियामा १७.१ प्रतिशत महिला र १५ प्रतिशत पुरूष बैंकको पहुँच भन्दा बाहिर रहेका देखाएकाे छ। प्रतिवेदन सन् २०२२ सम्मको तथ्यांकमा आधारित छ।
प्रतिक्रिया