पाँच दिनभित्र सहकारी समस्या समाधानको ठोस योजना ल्याउने मन्त्री अधिकारीको दावी


काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले पाँच दिन भित्र सहकारी समस्या समाधानको ठोस योजना ल्याउने बताएका छन् । हिजो अर्थात् बुधबार बालुवाटारमा बसेको सहकारी समस्या समाधानका लागि सरोकारवालाहरूको छलफलबाट आएको निष्कर्ष कार्यान्वयनका लागि पाँच दिनभित्र सहकारी समस्याको ठोस योजना ल्याउन मन्त्री अधिकारीले मन्त्रालय मातहतका निकाय र सरोकारवाला निकायलाई निर्देशन दिएका हुन् ।

मन्त्रालयका सचिव गोकर्णमणी दवाडीको संयोजन रहने गरी मन्त्रालयले सहकारी समस्या समाधानको ठोस योजना ल्याउने गृहकार्य सुरु गरेको छ । ठोस योजनालाई अन्तिमरुप दिएर मन्त्रीपरिषद्को बैठकमार्फत निणर्य गराई सहकारी समस्या समाधानका लागि पहलकदमी लिने मन्त्री अधिकारीले बताए ।

छलफलमा प्रधानमन्त्रीसहित उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, अर्थमन्त्री वर्षमान पुन, कानुन न्याय तथा संसदीय मामीलामन्त्री पदम गिरी, मुख्यसचिव बैकुण्ठ अर्याल, गृह, कानुन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिवलगायतका सरोकारवालाहरूको उपस्थति रहेको थियो ।