काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबार (आज) रु. ४० अर्बकाे निक्षेप संकलन गर्ने भएको छ। वित्तीय प्रणालीको अधिक तरलता नघट्ने भएपछि आज केन्द्रीय बैंकले १४ दिन अवधिको रू. ४० अर्ब निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न लागेको हो। यसका लागि आज ३ बजे बोलकबोल गरिने केन्द्रीय बैंकद्वारा जारी सूचनामा उल्लेख छ।
तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले यो जेठ महिना लागेयता मात्रै आठौँ पटक निक्षेप संकलन उपकरण प्रयोग गरी बैंकिङ्ग प्रणालीबाट पैसा तान्न लागेको हाे। यसअघि राष्ट्र बैंकले जेठ १ गते १० अर्ब रुपैयाँ, जेठ ३ गते ५० अर्ब रुपैयाँ, जेठ ४ गते ३५ अर्ब रुपैयाँ, जेठ ७ गते १० अर्ब रूपैयाँ, २५ अर्ब रुपैयाँ, जेठ ११ गते ३५ अर्ब रुपैयाँ, जेठ १७ गते ५० अर्ब रुपैयाँ, १४ गते २५ अर्ब निक्षेप संकलन उपकरण प्रयोग गर्दै तरलता खिचेकाे थियाे।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो १४ दिने निक्षेप संकलन उपकरणको असार ६ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप संकलन बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन्। केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर करिडोरको तल्लो सीमा भन्दा कम भएको खण्डमा निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्छ। निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुन्छ। पछिल्लो समयमा अन्तर बैंक ब्याजदर २.९३ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ।



About Us
प्रतिक्रिया