काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बङ्गलादेशको ढाकामा आयोजित एसियन क्लियरिङ युनियन (एसीयु) को ५२ औं बोर्ड बैठकमा सहभागी भएका छन्। बैठकमा गभर्नर अधिकारीले विश्व परिवेशमा देखिएको भू–राजनीतिक उतारचढाव र मुल्यवृद्धिका बावजुद नेपालको आर्थिक तथा वित्तीय स्थिति सन्तोषजनक रहेको जानकारी दिए। सो अवसरमा गभर्नर अधिकारीले एसीयुले सदस्य राष्ट्रहरूबीचको व्यापारलाई सहजीकरण गर्ने, मौद्रिक तथा प्राविधिक सहयोगलाई बढावा दिने र विद्यमान संयन्त्रलाई थप व्यवस्थित बनाउने विश्वास व्यक्त गरे।
बैठकको दोस्रो सत्रमा सहभागी मुलुकका विद्यमान भुक्तानी संयन्त्रमाथि छलफल भएको थियो। सो अवसरमा गभर्नर अधिकारीले नेपालको भुक्तानी प्रणालीमा भएको विकासबारे चर्चा गर्दै प्रणालीका नीतिगत र संस्थागत व्यवस्थाका बारेमा संक्षिप्त जानकारी दिए। उनले नेपालको एनपीआई र भारतको युपीआईबीच अन्तरआबद्धताले दुई देशबीचको भुक्तानी कारोबारमा सहजता ल्याउने विश्वास व्यक्त गरे। गभर्नर अधिकारीसँग विदेशी विनिमय व्यवस्थापन विभागका निर्देशक निश्चल अधिकारीसमेत बैठकमा सहभागी भएका थिए।

बङ्गलादेश बैंकका गभर्नर अब्दुर रौफ तालुक्दरको अध्यक्षतामा आयोजित बैठकमा एसीयुका महासचिव फरहाद मोर्सली पावासीले सन् २०२२ मा युनियनबाट भएका कामकारबाही सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकमा युनियनमा आवद्ध अन्य केन्द्रीय बैंकका पदाधिकारीले समेत आ–आफ्नो तर्फबाट मुलुकको समष्टिगत आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी विवरण प्रस्तुत गरेका थिए । एसीयुमा बङ्गलादेश, वेलारुस, भुटान, भारत, इरान, मौरिसस, माल्दीभ्स, म्यानमार, नेपाल, पाकिस्तान र श्रीलङ्गा गरी ११ मुलुकका केन्द्रीय बैंकहरू आवद्ध छन्। सदस्य मुलुकबीच अन्तरदेशीय भुक्तानी कारोबारलाई व्यवस्थित र सहजीकरण गर्ने उद्देश्यका साथ सन् १९७४ डिसेम्बरमा युनियनको स्थापना भएको थियो। गर्भनर अधिकारी जेठ १७ र १८ गते उक्त बैठकमा सहभागी भइ १९ गते स्वदेश फर्किएका थिए।



About Us
प्रतिक्रिया