नबिलले निकाल्यो आईएफआईसीले शेयर बिक्री स्थगित गरेकाे सूचना


काठमाडौं– नबिल बैंकले बंगलादेशको आईएफआईसी बैंकले शेयर बेच्ने निर्णय स्थगित गरेको जनाएकाे छ। आइतबार एक सूचना निकाल्दै बैंकले शेयर बिक्री स्थतगित गरिएकाे जानकारी दिएकाे हाे। याेसँगै विदेशी लगानीकर्ता आईएफआईसीको नाममा रहेको १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक शेयर बिक्रका लागि अघि बढाइएको काम कारबाही स्थगित भएकाे छ।

आईएफआईसीको नबिल बैंकमा रहेकाे विद्यमान शेयर कायमै राख्ने निर्णय भएकाे छ । नबिल बैंकमा कायम रहेको संस्थापक शेयरलाई निरन्तरता दिने भनी आईएफआईसीले बिक्रीको निवेदन फिर्ता लिएको तथा खरिदको प्रस्ताव पेस गर्ने संस्थापक शेयरधनीले समेत निवेदन फिर्ता लिई शेयर खरिदबिक्रीको प्रक्रियाबाट बाहिरिएको जानकारी गराएको छ।

बैंकद्वारा जारी सूचनामा भनिएको छ, ‘आर्थिक अभियान राष्ट्रिय दैनिकमा बैंकले संस्थापक शेयर बिक्री सम्बन्धी सूचना प्रकाशन गरी प्राप्त आवेदन उपर नेपाल राष्ट्र बैंकबाट स्विकृति लिने कामकारबाही अगाडि बढाइएकोमा हाल उपरोक्त विदेशी संस्थापक शेयरधनीले उल्लिखित शेयर बिक्री नगरी नबिल बैंकमा कायम रहेको संस्थापक शेयरलाई निरन्तरता दिने भनी बिक्रीको निवेदन फिर्ता लिएको तथा खरिदको प्रस्ताव पेस गर्नुहुने संस्थापक शेयरधनीले समेत निवेदन फिर्ता लिई शेयर खरिद बिक्रीको प्रक्रियाबाट बाहिरिएको व्यहोरा जानकारी गराएकाले सो सम्बन्धमा बैंकको मिति २०८१र०२र१९ मा बसेको ६५८औं सञ्चालक समितिको बैठकमा छलफल भएकोमा उक्त व्यहोरा सञ्चालक समितिले जानकारीमा लिई उल्लिखित शेयरको खरिद–बिक्री स्थगन भएको विषयका सम्बन्धमा नियामक निकायहरूलाई समेत जानकारी गराउने निर्णय भएकाले सोही बमोजिम उपरोक्त व्यहोरा तहाँसमक्ष जानकारीका लागि अनुरोध छ।’