५० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक 


काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबार (आज) ५० अर्ब निक्षेप संकल गर्ने भएको छ। बुधबार स्थायी निक्षेप संकलन मार्फत १८ अर्ब २५ करोड लिएको केन्द्रीय बैंकले बिहीबार ५० अर्बको निक्षेप संकलन गर्ने भएको हो।

वित्तीय प्रणालीको अधिक तरलता नघट्ने भएपछि बिहीबार केन्द्रीय बैंकले १४ दिन अवधिको ५० अर्ब निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न लागेको हो। यसका लागि आज ३ बजे बोलकबोल गरिने केन्द्रीय बैंकद्वारा जारी सूचनामा उल्लेख छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन्।

केन्द्रीय बैंकले यसभन्दा अघि निक्षेप संकलन मार्फत लिएको पैसा बिहीबार परिपक्क हुँदैछ। बिहीबार पुरानो निक्षेप परिपक्क हुने भएपछि त्यसलाई बजारमा फिर्ता पठाउँदा अधिक तरलताको समस्या झनै जटिल हुने भएकाले त्यसलाई केन्द्रीय बैंकले नै राख्नका लागि बिहीबार पुन निक्षेप संकलन गर्ने भएको हो।

केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर करिडोरको तल्लो सीमा भन्दा कम भएको खण्डमा निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्छ। निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुन्छ। पछिल्लो समयमा अन्तर बैंक ब्याजदर २.९९ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ।

पछिल्लो समय बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन बढिरहेको छ। निक्षेप बढेअनुसार कर्जाकाे माग नहुँदा बैंकमा तरलता थुप्रिरहेको छ। यसैले केन्द्रीय बैंकले सस्तो ब्याजमा निक्षेप संकलन उपकरणमार्फत निरन्तर बैंकिङ्ग प्रणाली मार्फत तरलता तानिरहेको छ।