काठमाडौं– नेपाल राष्ट्र बैंककाअनुसार बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन दर केही घटेको छ। नेपाल राष्ट्र बैंकले ४ गते शुक्रबार ६१ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप रहेकोमा ५ गते शनिबार ६१ खर्ब ९६ अर्ब निक्षेप संकलन भएको उल्लेख गरेको हो। बैंकको तथ्यांकले एक दिनमा २ अर्बले निक्षेप संकलन घटेको देखाएको छ।
त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले संकलन गर्ने निक्षेप दर पनि केही घटेको छ। गत शुक्रबार ५४ खर्ब ८१ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले गत शनिबार ५४ खर्ब ७९ अर्ब निक्षेप संकलन गरेका छन्।
बैंकको तथ्यांकअनुसार गत शनिबारसम्ममा कुल कर्जा प्रवाह ५१ खर्ब ९ अर्ब भएको छ। शुक्रबार भने ५१ खर्ब १० अर्ब कर्जा प्रबाह गरेका थिए । साथै, बैंकको तथ्यांकले वाणिज्य बैंकहरुबाट हुने कर्जा प्रवाह शुक्रबारको तुलनामा स्थिर रहेको उल्लेख गरेको छ।
पछिल्लो तथ्यांक अनुसार वाणिज्य बैंकले ४५ खर्ब १९ अर्ब कर्जा प्रवाह गरेका छन्। सो समयमा बैंकहरुको कर्जा निक्षेप–अनुपात (सिडी रेसियो) ८०.२३ कायम भएको थियो । त्यस्तै, बैंकको पछिल्लो तथ्यांकले अन्तर बैंक ब्याजदर २.८५ कायम भएको उल्लेख गरेको छ।
प्रतिक्रिया