चैत महिनामा बैंकहरुको खराब कर्जा बढ्यो

चैत महिनामा बैंकहरुको खराब कर्जा बढ्यो


काठमाडौं– नेपाल राष्ट्र बैंकले चैत महिनाको मासिक रिपोर्ट गत सोमबार सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको रिपोर्टले चैतमा बैंक तथा वित्तीय संस्थाहरूले ५० अर्ब ५५ करोड बराबरको लगानी गरेको देखाउँछ ।

गत चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले कूल ५१ खर्ब २७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। अघिल्लो महिना फागुन मसान्तसम्म भने बैंकहरूले ५० खर्ब ९१ अर्ब रुपैयाँ लगानी गरेका थिए । बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी बढेपनि निक्षेप भने २४ अर्ब रुपैयाँले घटेको छ । फागुन मसान्तसम्म ६१ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै ५० खर्ब ९१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरूले चैत मसान्तसम्ममा ६१ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै ५१ खर्ब २७ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जाको दर(एनपीएल) बढ्दो क्रममा रहेको छ । अघिल्लो महिना ३।७३ प्रतिशत रहेको बैंकहरूको औसत खराब कर्जाको दर चैत मसान्तसम्ममा थप वृद्धि भएर ३.९८ प्रतिशत पुगेको हो ।

त्यस्तै, चैत मसान्तसम्म बैंकहरूले कूल ४५ अर्ब ४३ करोड १० लाख रुपैयाँ नाफा कमाएका छन् । यसमध्येको औसत ३।९८ प्रतिशत खराब कर्जामा रुपान्तरण भएकोमा करिब २ खर्ब ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको लगानी जोखिममा परेको छ ।

जोखिममा परेको लगानीका लागि बैंक तथा वित्तीय संस्थाहरूले नाफाबाट २ खर्ब ३२ अर्ब बढी रकम वित्तीय व्यवस्थापनका लागि छुट्याएको केन्द्रीय बैंकले जनाएको छ ।