बजारबाट ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

बजारबाट ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक


काठमाडौं– अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले दोस्रो बैंकिङ्ग प्रणालीबाट पैसा तान्ने भएकाे छ। केन्द्रीय बैंकले एकैपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै एकैपटक ५० अर्ब रुपैयाँ खिच्ने भएको हाे।

अन्तर बैंकदर ३ प्रतिशतभन्दा तल झरेपछि राष्ट्र बैंकले बजारबाट पैसा तान्न लागेको हो। केन्द्रीय बैंकले ब्याजदरलाई नियन्त्रण्मा राख्न तथा तरलता व्यवस्थापनका लागी ब्याजदर करिडोर लागू गरेको छ। यो व्यवस्था अनुसार राष्ट्र बैंकले अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल हुँदा बजारबाट पैसा तान्ने गर्छ भने ७ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउने गर्छ । राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट ७ दिने निक्षेप सङ्कलन गर्न लागेको हो।

अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने बैंकले जनाएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन्।

निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी आगामी जेठ १७ गते हुनेछ। निक्षेप संकलनमा राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन् ।