काठमाडौं– बारा प्रहरीले दुई सय १६ किलो लागू औषध गाँजासहित दुई जना र ट्रकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा ना ५ ख ७५५२ नम्बरका ट्रक चालक मकवानपुर मनहरी गाउँपालिका–३ घर भई हाल बारा जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने आकाश भन्ने दीपक कोईराला र ट्रकमा सवार मकवानपुर हेटौंडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने जीवन घलान रहेका छन्।
अस्थायी प्रहरी पोस्ट रतनपुर र इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको संयुक्त टोलीले रतनपुरबाट निजगढतर्फ जाँदै गरेको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा रहेको ७ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी नियन्त्रणमा लिएकाे हाे।
लागू औषध गाँजा बरामद गरी दुवै जना सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको बाराका प्रहरी प्रमुख/ प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।
यसका साथै बारा प्रहरीले तीन वर्षको कार्य विवरण पनि सार्वजनिक गरेको छ। सार्वजनिक विवरणमा आर्थिक वर्ष २०७८/७९ मा चोरी निकासी /पैठारीमा २ करोड ४३ लाख ८९ हजार २ सय ६२ रुपैयाँको भन्सार बुझाएको छ भने ११ जना मानिसलाई पक्राउ गरेको थियो ।
यस्तै, प्रहरीले ०८०/०८१ मा अहिले हालसम्म ४८ करोड ४१ लाख ५४ हजार ८ सय ५७ रुपैयाँ बराबरको समान भन्सार कार्यालयमा बुझाएको छ । यस अवधिमा २० जना मानिसहरूलाई पक्राउ गरेको छ । प्रहरीले ०७९/८० मा १२ करोड ६१ लाख २३ हजार ९ सय ८९ रुपैयाँ बराबरको भन्सार बुझाएको छ भने १६ जना मानिसलाई पक्राउ गरेको थियो । प्रहरीले आर्थिक वर्ष ०८०/०८१ मा हालसम्म १ हजार २ सय ८ किलो ७३ ग्राम लागु औषध बरामद गरेको छ । ४२ वटा मुद्दा दर्ता र ५८ जना मानिसहरूलाई पक्राउ गरिएको सार्वजनिक तथ्यांकमा उल्लेख छ ।
त्यस्तै, स्रोत नखुलेको ३८ लाख ९ हजार रुपैयाँ बरामद गरिएको छ भने चार वटा हुन्डी कारोबार सम्बन्धी मुद्दा दर्ता भएको छ ।हालसम्म हुन्डी कारोबारमा नेपाली ५ जना र भारतीय ३ जना पुरुष पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रतिक्रिया