पीओएसबाट भुक्तानी नहुँदा पनि बैंक खाताबाट पैसा काटिएमा हिसाब मिलान कसरी हुन्छ ?

पीओएसबाट भुक्तानी नहुँदा पनि बैंक खाताबाट पैसा काटिएमा हिसाब मिलान कसरी हुन्छ ?


काठमाडौं- पछिल्लो चरणमा नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीमा जोड दिएको छ । बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न विभिन्न किसिमका व्यवस्था पनि गरेको छ । बैंकको विभिन्न डिजिटल सेवाको एक अर्को सेवाको रुपमा प्वइन्ट अफ सेल डिभाइस (पीओएस) लाई लिन सकिन्छ ।

वस्तु तथा सेवा खरिद गर्दा कार्ड प्रयोग गरी पीओएस मेसिनबाट भुक्तानी गर्दा कुनै प्राविधिक समस्याको कारणले भुक्तानी नहुँदा पनि कहिलेकाहीँ खाताबाट पैसा घट्न सक्छ । । यस्तो अवस्थामा रकम फिर्ता गर्नका लागि ग्राहकले खबर गरेमा वा नगरेमा देहायबमोजिमको अवधिभित्र ग्राहकको खातामा रकमको हिसाब मिलाउनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

१.कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको पीओएस मेसिन एउटै संस्थाको भएमा कारोबार भएपछिको एक दिन (टी प्लस १) भित्र।
२.कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको पीओएस मेसिन फरक संस्थाको भई दुवै नेपाली संस्था भएमा कारोबार भएपछिको तीन दिन (टी प्लस ३) भित्र।
३.कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको पीओएस मेसिन फरक संस्थाको भई कुनै एक विदेशी संस्था भएमा कारोबार भएपछिको ३० दिन (टी प्लस ३०) भित्र।

राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले एक सूचना जारी गर्दै यसको जानकारी गराएको हो । उपर्युक्त समयसीमाभित्र हिसाब मिलाउने दायित्व उपकरण जारी गर्ने र प्रयोग हुने दुवै संस्थाको हुन्छ। राष्ट्र बैंकले यससम्बन्धी थप जानकारी आवश्यक भएमा सम्बन्धित संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ।