३० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक 

३० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक 


बैकिङ्ग समाचार । 

कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र डामाडोल हुने सक्ने संकेत देखिएपछि नेपाल राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने खर्च जोहो गर्न ३० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ।

राष्ट्र बैंकले चैत २७ गते बिहीबार ३० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८१ 'घ' जारी गरेर आन्तरिक ऋण उठाउन लागेको हो।

यो विकास ऋणपत्र ५ वर्षे अवधिको हुनेछ। चैत २८ गते शुक्रबार जारी मिति तोकिएको ऋणपत्रको परिपक्व हुने अवधि २०८१ चैत २८ गते हुनेछ।

लकडाउनका कारण अहिले बैंक तथा वित्तीय संस्थामा अनिवार्य तरलता अनुपात वाहेक ९० अर्ब रुपैयाँ बढी अधिक तरलता छ ।

केन्द्रीय बैंकले जारी गर्ने उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न सक्नेछन्। यद्यपी नेपालमा सर्र्वसाधारण लगानीकर्ताबाट भने विगतमा विकास ऋणपत्र खरीदमा नगन्य रुपमा मात्र सहभागिता जनाउँदैै आएको पाइन्छ।

इच्छुकले बिहीबार दिउँसो ३ बजेसम्म अनलाईन बिडिङ मार्फत आवेदन गर्न सक्नेछन्। आवेदन गर्दा न्यूनतम ५० हजार र बढीमा ५० हजारले भाग जानेगरि निष्काशित सबैका लागि आवेदन दिन सकिन्छ। 

यदि राष्ट्र बैंकमा खाता नरहेको बोलबालाहरुले ऋणपत्र खरिद गर्न चाहेमा खरिद गर्ने रकमको २।५० प्रतिशतले अर्नेष्ट मनि वापतको रकम बैंकको खातामा जम्मा गरि प्राप्त भौचर बुझाउनुपर्ने हुन्छ ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालार्ई निष्काशित रकमको २५ अर्ब ५० करोड (८५ प्रतिशत) र ४ अर्ब ५० करोड (१५ प्रतिशत) छुट्याइएको छ।

खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिन र दिनसमेत पाइन्छ। ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्जमार्फत हुनेछ।

निश्चित ब्याजदर दिइ सरकारले देशभित्रै ऋण संकलन गरेर आफ्ना विभिन्न योजनाहरुका लागि स्रोत जुटाउन ऋणपत्र तथा बचतपत्रलाई माध्यमका रुपमा पटक पटक प्रयोग गर्ने गरेको छ। 

राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन, आउट राइट सेल्स अक्सन तथा रिभर्स रिपो जारी गरे बैंक तथा वित्तीय संस्थाबाट पैसा खिच्ने गर्छ।