नेपालमै सुरु भयो अन्तर्राष्ट्रियस्तरको जिम ‘ट्रेनर’ प्रशिक्षण

नेपालमै सुरु भयो अन्तर्राष्ट्रियस्तरको जिम ‘ट्रेनर’ प्रशिक्षण


काठमाडौं– नेपालमै अन्तर्राष्ट्रिय स्तरको व्यायाम प्रशिक्षक (जिम ट्रेनर) प्रशिक्षण सुरु भएको छ। कमपोखरीस्थित क्लासिक फिटनेस एकेडेमी नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको जिम ट्रेनर प्रशिक्षण सुरु गरेको हो।

क्लासिकले अमेरिकन काउन्सिल एक्सरसाईज (एसीई) को सम्बन्धनमा जिम ट्रेनर प्रशिक्षण सुरु गरेको हो। एसीईबाट सम्बन्धन लिएर जिम प्रशिक्षक ट्रेनिङ ९क्लास० सुरु गरेको क्लासिक फिटनेस एकेडेमीका प्रबन्ध निर्देशक रोजल शाहीले जानकारी दिए।

नेपालमा प्रशस्त जिम सेन्टरहरू खोलिएका छन् र खोलिने क्रममा छ । तैपनि भनेजस्तो दक्ष जिम ट्रेनर नभएको अवस्थालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रियस्तरको जिम ट्रेनर प्रशिक्षण सुरु गरेको प्रबन्ध निर्देशक शाहीको भनाइ छ।

‘पछिल्लो समय शारीरिक स्वास्थ्यता र आफूलाई फिट एण्ड राइट राख्नका लागि जिम गर्नेहरुको जमात बढ्दै गएको छ’, निर्देशक शाहीले भने, ‘थुप्रै जिम सेन्टरहरू पनि खुलेका छन् । तर, आवश्यक दक्ष ट्रेनर पाउने अवस्था छैन। त्यसैले अन्तराष्ट्रिय स्तरको जिम ट्रेनर उत्पादन गर्ने हाम्रो लक्ष्य हो।’

अन्तर्राष्ट्रिय स्तरको जिम ट्रेनरको सर्टिफिकेट प्राप्त गरेपछि जिम तथा फिटनेश सेन्टरहरुमा आकर्षक रोजगारी पाउने क्लासिक एकेडेमीको विश्वास छ। निर्देशक शाहीले भने, ‘जिम ट्रेनर प्रशिक्षण जिम सेन्टरमा पनि रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने अर्को उद्देश्य पनि हो ।’

जिम ट्रेनर प्रशिक्षकले एसीईलगायत पाँच किसिमका अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र पाउनेछन्। ईआरईपीएस फिटनेसका लागि युरोपभरि मान्यता प्राप्त छ । अन्य सर्टिफिकेटहरू पनि भारत, अमेरिकालगायतमा मान्यता प्राप्त हुनेछन्। अहिले पनि जिम ट्रेनरको क्लास भइरहे पनि औपचारिकरूपमा भने वैशाख १७ गतेदेखि सुरु हुने बताइएको छ।