काठमाडौं – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को बैंक सुपरिवेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले (हिजो )वैशाख २ गते प्रतिवेदन सार्वजनिक गरेको हो ।
जसअनुसार राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० मा १८ वटा बैंकमा स्पेसल निरीक्षण गरेको जनाएको छ। केन्द्रीय बैंकले दुइ वटा बैंकमा ४ पटकसम्म र दुई वटा बैंकमा ३ पटकसम्म स्पेसल निरीक्षण गरेको छ। बैंकले प्रभु र लक्ष्मी सनराइज बैंकमा ४ पटकसम्म तथा ग्लोबल आईएमई र कुमारीमा ३ पटकसम्म स्पेसल निरीक्षण गरेको हो।
राष्ट्र बैंकले अध्ययनको क्रममा बैंकको संचालक समितिको बैठकको एजेण्डा धेरैजसो ऋण मूल्याङ्कन /अनुमोदन / रिकभरी कार्यहरू र खरिदसँग सम्बन्धित हुने पाएकाे छ । संचालक समितिले नीतिगत विषयमा, अनुपालन, लेखापरीक्षण र जोखिम व्यवस्थापन विषयमा छलफल गर्न कम समय खर्च गरेको पनि भेटिएको छ। साथै केही बैंकले रिकभरी योजना नबनाएको, अनुपालन नीति नबनाएको, संचालक शिक्षा कार्यक्रम नबनाएको पाइएको छ।
अधिकांश बैंकमा महिला संचालक नभएको, केही बैंकले सीईओको कार्यसम्पादन मूल्यांकन नगरेको, अघिल्लो संचालक समितिको बैठकमा भएका निर्णयको कार्यान्वयनबारे र व्यवस्थापनलाई दिएको निर्देशन कार्यान्वयनबारे छलफल नभएको, जोखिम व्यवस्थापनबारे कार्य योजना नबनाएको, फ्रेमवर्क अनुसार ऋणको जोखिम भार नतोकेको, केही बैंकले न्युनतम पुजी कोष कायम नगरेको, व्यवसाय निरन्तरता योजना नबनाएको, इन्टर्नलाई पनि कोर बैंकिंङ्गसँग समबन्धित काम लगाएको, जस्ता विषयहरु राष्ट्र बैंकले फेला पारेको छ।
साथै, आर्थिक वर्ष २०७९/८० मा केन्द्रीय बैंकले ११ वटा वाणिज्य बैंकमा ‘फुल स्कोप’ स्थलगत निरीक्षण गरेको छ । बैंकले तत्कालिन एनसीसी, कुमारी, एनआईसी एशिया, सिटिजन्स, स्ट्याण्डर्ड चार्टर्ड, ग्लोबल आईएमई, नबिल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, प्राइम कमर्शियल र हिमालयन बैंकमा ‘फुल स्कोप’ स्थलगत निरीक्षण गरेको थियो।
त्यस्तै, राष्ट्र बैंकले ११ वटा वाणिज्य बैंकमा टार्गेटेड स्थलगत निरीक्षण गरेको छ। केन्द्रीय बैंकले राष्ट्रिय वाणिज्य, कृषि विकास, सानिमा, लक्ष्मी, नेपाल एसबिआई, सनराइज, एभरेष्ट, एनएमबि, माछापुच्छ्रे, नेपाल बैंक, र सिद्धार्थ बैंकमा टार्गेटेड स्थलगत निरीक्षण गरेको हो।
प्रतिक्रिया