जमुनाहको पर्यटन सूचना केन्द्र कामविहीन

जमुनाहको पर्यटन सूचना केन्द्र कामविहीन


नेपालगञ्ज – बाँकेको जमुनाह नाकामा रहेको सूचना केन्द्र तीन वर्षदेखि कामविहीन भएको छ । तेस्रो मुलुकबाट नेपाल भित्रिने पर्यटकलाई सूचना दिने र पर्यटकीय गन्तव्यस्थलका विषयमा जानकारी दिन स्थापना गरिएको सो सूचना केन्द्र भारतीय पक्षका कारण अध्यागमन कार्यालय सञ्चालन नहुँदा कामविहीन भएको हो ।

अहिले उक्त कार्यालयले पर्यटन प्रवद्र्धनका केही कार्यक्रम मात्रै सञ्चालन गर्दै आएको सूचना केन्द्रका सूचना अधिकारी कान्ता भण्डारीले जानकारी दिइन्। उनले कोरोनाकालपछि पर्यटक भारतबाट नेपाल र नेपालबाट भारत जान बन्द भएको बताइन् । ‘कहिलेकाहीँ झुक्किएर आउनुभएको छ, तर उहाँहरुलाई हामीले सबै विषय जानकारी दिएर काठमाडौँसमेत पठाएका छौँ’, उनले भनिन् ।

भण्डारीले केही दिनअघिमात्रै जर्मनका पर्यटक आएर फर्केको जानकारी दिँदै सूचना केन्द्र सञ्चालनमा नआउँदा पर्यटक अलमल परेपछि उनीहरुलाई सहजीकरण गर्ने काम गरिएको बताइन् ।

पर्यटन विकास परिषद् रुपन्देहीका कार्यकारी निर्देशक रामु जोशीले पर्यटन सूचना केन्द्र अब छिट्टै सञ्चालनको तयारीमा रहेको उल्लेख गर्दै पर्यटनसम्बन्धी डिजिटल र होडिङबोर्ड राख्ने तयारी भइरहेको जानकारी दिए ।

‘केही समयपछि त्यसलाई मर्मतसम्भार गरेर नयाँ स्वरुपमा वैशाखको दोस्रो साताबाट नै सञ्चालनमा आउँछ’, उनले भने । अहिले दैनिक ज्यालादारीमा रहेका दुई कर्मचारीबाट मात्रै सो कार्यालय सञ्चालन भइरहेको छ । पर्यटन सूचना केन्द्र पर्यटन विकास परिषद्अन्तर्गत पर्छ ।

नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)च्याप्टर बाँकेका अध्यक्ष श्रीराम सिग्देलले सूचना केन्द्र सञ्चालनमा नआउँदा बाँकेको पर्यटन बजार प्रभावित भएको उल्लेख गर्दै यसको सञ्चालनका लागि दबाब आवश्यक भएको बताए । (रासस)