बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई बिदै बिदा 

बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई बिदै बिदा 


बैंकिङ्ग समाचार  ।  
बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले सरकारी विदाबाहेक नै वर्षमा ६० दिनभन्दा बढिको विदा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंकका कर्मचारीले विवाहदेखि काज क्रिया बस्दासम्म विदा पाउने व्यवस्थासहितको नमुना कार्यविधि तयार पारेको हो ।  

कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्र नै डमाडोल हुने अवस्थामा पुगेपछि संक्रामक रोग लागेमा विदा बस्न आदेश दिन सकिने व्यवस्थासहितको नमुना विनियमावली सबै बैंक तथा वित्तीय संस्थामा परिपत्र जारी गरेको हो । 

राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको बैंक तथा वित्तीय संस्थाहरूले लागू गर्नुपर्ने ‘कर्मचारी सेवा विनियमावली’को नमुनाअनुसार कुनै कर्मचारीलाई अकस्मात रोग लागि उपचार गराउनु परेमा उपचार अवधिभर विदा बस्न मिल्ने व्यवस्था गरिएको छ ।  

जारी विनियमावली अनुसार बैंक–वित्तीय संस्थामा कार्यरत कर्मचारीले १४ किसिमको विदा पाउने छन् । शनिबारका दिन साप्ताहिक विदा र सरकारले तोक्ने सबै सार्वजनिक विदाबाहेक थप १२ किसिमका विदाका व्यवस्था गरिएको छ । 

कार्यविधिअनुसार विवाहका लागि बैंकका कर्मचारीले ३ दिन र काज क्रियाका लागि १५ दिनको तलबी विदा पाउँछन् । बैंक तथा वित्तीय संस्थाका कर्मचारीले काम गरेको अवधिको १८ दिनको एक दिनका दरले घर विदा, वर्षमा १२ दिन बिमारी विदा तथा कम्तीमा सात दिन अनिवार्य विदा पाउने नमुना विनियामावलीमा व्यवस्था गरिएको छ ।

यस्तै, वर्षभरी कम्तिमा ७ दिनसम्मको कर्मचारी सेवा समितिको सिफारिसमा समितिले तोके बमोजिम पूर्ण सुविधा सहितको अनिवार्य विदा (फोर्स लिभ) दिइने व्यवस्था नमुना विनियवालीमा उल्लेख छ । 

बैंक तथा वित्तीय संस्थामा कम्तिमा पाँच वर्षसम्म काम गरेका स्थायी कर्मचारीले आफ्नो सञ्चित विदा लिई सकेपछि पनि आफ्नो घरायसी व्यवहार वा विरामीका कारणले विदा नबसी नहुने परिस्थिति आइपरेमा एक आर्थिक वर्षमा बढीमा १५ दिनसम्म र सेवा अवधिभरमा ६० दिनसम्म विशेष विदा दिन सकिने व्यवस्था गरिएको छ । 

त्यस्तै, बैंक–वित्तीय संस्थामा तीन वर्ष स्थायी सेवा गरेका कर्मचारीले समितिले तोकेको शर्त वन्देजको अधीनमा रहने गरी संस्थागत वा आफ्नै प्रयासमा स्वदेश वा विदेशमा अध्ययन गर्न चाहेमा सेवा अवधिभरमा एक पटक वा पटक पटक गरी बढीमा पाँच वर्षसम्मको आधा तलब पाउने गरी अध्ययन विदा पाउन सक्ने यसमा व्यवस्था गरिएको छ ।

यसबाहेक, बैंक–वित्तीय संस्थाले आफ्नो आवश्यकता अनुसार कर्मचारीलाई तलबभत्ता, सुविधा समेत प्रदान गर्ने गरी तालिममा पठाउन सक्ने व्यवस्था गरिएको छ ।