ग्लोबल मनी विक: बैंकमा पैसा किन राख्ने ? बैंकमा बचत कसरी सुरक्षित हुन्छ ?

ग्लोबल मनी विक: बैंकमा पैसा किन राख्ने ? बैंकमा बचत कसरी सुरक्षित हुन्छ ?


यो हप्ताभरी ग्लोबल मनी विकको सन्दर्भमा हामीले वित्तीय साक्षरता जगाउने उद्देश्यले विभिन्न सामाग्रीहरू पस्किरहेका छौँ। यसै सन्दर्भमा आजको शृङ्खलामा हामीले किन बैंकमा पैसा राख्ने ? बैंकमा राखेको बचत कसरी सुरक्षित हुन्छ ? बैंकहरुले बचतको सुरक्षा कसरी गर्छन् भन्ने बारेमा बुदाँगत चर्चा गर्नेछौं ।

बचत के हो ?

आफ्नो आयबाट भविष्यको लागि छुट्टाएर सुरक्षित राखिएको रकमलाई बचत भनिन्छ । बचतलाई घर जग्गा जस्ता सम्पति जोड्न , जीवनमा आइपर्ने जिम्मेवारी, आफ्नो इच्छा तथा सपना पुरा गर्न आफ्नो बर्तमानको इच्छाहरुलाई टार्दै गरिने पैसाको जोहोको रुपमा पनि बुझ्न सकिन्छ। बैंकहरुले यस्तै बचतहरु जम्मा गर्न विभिन्न प्रकारका प्राबधान र सुबिधायुक्त बचत खाताका सेवा दिईरहेका हुन्छन । हामी जो कोहिले पनि आफूलाई सजिलो हुने बचत खाता खोलेर बचत गर्न सकिन्छ । हामीले आयबाट खर्च गर्दा आवश्यक क्षेत्रमा विभिन्न शिर्षक छुट्याएर मात्र खर्चिने हो भने खर्च कम हुन्छ र धेरै बचत गर्न सकिन्छ ।

हामीले बैंकमा जम्मा गरेको बचत सुरक्षित रहने आधारहरु धेरै छन् । हामीले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंकमा पैसा राख्दा कहिँल्यै पनि आफ्नो बचतको चिन्ता गर्नु आवश्यक छैन । किनभने नेपाल राष्ट्र बैंकले आफुले इजाजत दिएको बैंक तथा वित्तीय संस्थालाई कडा निगरानीमा राखेको हुन्छ । केन्द्रीय बैंकले यदि कुनैपनि बैंकहरु घाटामा गए बचतकर्ताको बचत फिर्ता गर्न सकेनन् भने पनि आफुले बचतकर्ताको बचत फिर्ता गराउँछ । यस्तो छ बैंकमा गरिएको बचतको सुरक्षाका आधारहरु :

१. निक्षेपको बीमा

हामीले बैंकमा राखेको पैसाको बैंकले बीमा गर्ने गर्दछ । आर्थिक वर्षको बजेटसँगै सरकारले नै बैंक तथा वित्तीय संस्थामा बचत गरेको निश्चित रकमको बीमा गर्ने बताउँदै आएको छ । यस्तो बीमाले यदि बैंक तथा वित्तिय संस्थाले कुनै कारण बचत फिर्ता दिन सकेन भने उक्त बीमा गरिएको रकम बराबरको पैसा हामीले बीमा मार्फत प्राप्त गर्न सक्दछौ । जसले गर्दा हाम्रो पैसा बैंकमा सधै सुरक्षित रहने गर्दछ ।

२. विशेष सुरक्षाको प्रबन्ध

घरमा पैसा राख्दा आगलागी, चोरी वा अन्य जोखिम हुने गर्दछ तर बैंक तथा वित्तीय संस्थाहरुले पैसालाई भौतिक तथा विद्युतीय सुरक्षाको विभिन्न मध्यमहरु परिचालन गरि निरन्तर निगरानी गर्ने गर्दछन जसले गर्दा पैसा बैंकमा सुरक्षित हुने गर्दछ।

३. ब्याजको लाभ

जे कोहिले पनि आफुसँग भएको पैसा घरमा आफु संगै घरमा राख्दा त्यसबाट प्रतिफल प्राप्त हुदैन तर बैंक तथा वित्तीय संस्थामा पैसा राख्दा तपाईको बचतमा बैंकले ब्याज दिन्छ जसले गर्दा तपाईको धन वृद्धि हुदै जान्छ भने घरमा भन्दा बैंकमा पैसा सुरक्षित पनि हुन्छ ।

४. तरलता वा पैसा सम्म सहज पहुच

बैंकमा राखेको पैसा घरमा राखेको नगद जस्तै जतिबेला पनि उपलब्ध हुन्छ । हामीलाई जतिबेला पैसा आवश्यक पर्दछ त्यतिनै बेला बैंकमा रहेको हाम्रो पैसा विभिन्न भुक्तानीको, माध्यम जस्तै डिजिटल वालेट, एटिएम,चेक आदि प्रयोग गरि हामीले अरुलाई पैसा तिर्न वा आफुलाई चाहिएको नगद सजिलै प्राप्त गर्न सक्छौ ।

५. केन्द्रिय बैंकको निगरानी

बैंकहरुले ग्राहकसंग लिएको निक्षेपको सहि तरिकाले प्रयोग भएको छ कि छैन भनेर निक्षेपको सुरक्षाको लागि केन्द्रिय बैंकले बैंकहरुको निगरानी गर्ने गर्दछ । यदि कुनै बैंकले निक्षेपको सुरक्षामा सावधानी नअपनाएको भेटिए त्यस्ता संस्थाहरुलाई जरिवाना र सचेत गराउने काम पनि राष्ट्र बैंकले नै गर्ने गर्दछ । बैंकहरुले बचतकर्ताको हितविपरित कुनैपनि कार्य गरेमा केन्द्रीय बैंकले बैंकहरुलाई कारबार्ही गर्ने गर्दछ ।

त्यसैले हामीले बैंक तथा वित्तीय संस्थामा बचत गरि आफ्नो पैसा सुरक्षितगर्न सक्दछौ यसरि बचतगर्दै जादा यसले हाम्रो विश्वासनियता पनि बढ्दै जान्छ र आफुसँग पैसा नहुँदा पनि आवश्यक परेको बेलामा बैंकहरुबाट सजिलै कर्जा लिन सकिन्छ ।