काठमाडौं– यती एयरलाइन्सले क्यानसरका बिरामीलाई हवाई टिकट निःशुल्क गर्ने भएको छ । बिराटनगरमा रहेको बिराट मेडिकल कलेज टिचिङ हस्पिटल (बिराट क्यान्सर इन्स्टिच्युट) सँगको सहकार्यमा एयरलाइन्सले क्यान्सरका बिरामीहरूलाई निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको हो ।
यतीले सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याइएको र भोलीका दिनमा अन्य स्वास्थ्य संस्थासँग पनि समन्वय गरेर सुविधाको क्षेत्रलाई फराकिलो बनाईने एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्टले बैकिङ्ग समाचारलाई जानकारी दिए ।
‘यो सुविधाले क्यान्सरसँग लडिरहेका बिरामीलाई थप उत्प्रेरणा मिल्ने विश्वास लिएका छौं’, विष्टले भने, ‘निःशुल्क हवाई टिकट पूर्वमा मात्र नभई नेपालभरिकै क्यान्सरका बिरामीहरूले उपभोग गर्न पाउनुहुनेछ । बिराट क्यान्सर इन्स्टिच्युटसँगको सहकार्यमा यो योजना ल्याएका हौं ।’
निःशुल्क टिकटका लागि बिरामीले आवश्यक कागजातसहित बिराट क्यान्सर इन्स्टिट्युटमा सम्पर्क गर्नुपर्नेछ । त्यस्तै, यात्रुले विमानस्थलमा चेक–इन गर्दा यति एयरलाइन्सको काउन्टरमा अस्पतालद्वारा क्यान्सरको बिरामी प्रमाणित गरिएको परिचयपत्र पेश गर्नुपर्ने एयरलाइन्सले जानकारी दिएको छ । नेपालभरकै क्यान्सर बिरामीहरूलाई हवाई टिकट निःशुल्क उपलब्ध गराउने गरी यति एयरलाइन्स र बिराट क्यान्सर इन्स्टिच्युटबीच फागुन १७ गते सम्झौता–पत्रमा हस्ताक्षर भएको थियो ।



About Us
प्रतिक्रिया