काठमाडौं– नेपाल चेम्बर अफ कमर्सको आयोजनामा ‘नेपाल चेम्बर एक्स्पो २०२४’ बिहीबारदेखि सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा सुरु भएको चेम्बर एक्स्पोको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले उद्घाटन गरेका छन् । सो एक्स्पो क्रममा श्रममन्त्री अर्यालले मुलुकमा रोजगारी सिर्जना गर्ने निजी क्षेत्रले नै गर्नुपर्ने बताए । उनले मुलुकको वर्तमान अर्थतन्त्र निजी क्षेत्रले नै चलायमान बनाउनुपर्ने बताए ।
निजी क्षेत्रलाई सरकारको सहयोग र साथ रहने बताउँदै उनले चेम्बरले विदेशमा व्यापारको लागि बनाएको आपसी सम्बन्ध मुलुकको हितमा रहेको भनाइ राखे । मन्त्री अर्यालले अर्थतन्त्र सिथिल अवस्थामा रहेको बताए । साथै मुलुकको आन्तरिक उत्पादनले विदेशमा बजारमा निर्यात गर्न आवश्यक रहेको औल्याँदै उनले चेम्बरले गरेको यस्ता मेलाले नेपाली उत्पादनमा लाग्ने युवा उद्यमीहरुको लागि संयोग र अध्ययन गर्ने अवसर दिने बताए ।
उनले भने, ‘निजी क्षेत्रले नै रोजगारी सिर्जना गर्ने हो । निजी क्षेत्रले नै मुलुकको अर्थतन्त्र चलायमान गराउने हो । निजी क्षेत्रले गरेको प्रयासलाई सरकारले साथ दिन्छ । चेम्बरले विदेशमा व्यापारको लागि बनाएको आपसी सम्बन्ध मुलुकको हितमा छ । अर्थतन्त्र शिथिल अवस्थामा छ । यस्तो अवस्थामा मुलुकको आन्तरिक उत्पादनले विदेशमा बजार पाएको छ । यस्ता मेलाले नेपाली उत्पादनमा लाग्ने युवा उद्यमीहरुको लागि संयोग र अध्ययन गर्ने अवसर हो । व्यापार भन्दा पनि नेपाली उत्पादन निर्यात गर्न सकिन्छ भनेर देखाउने अवसर हो ।’
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले विदेशहरुमा समेत नेपाली उत्पादनहरुको मेला आयोजना भए नेपाली उत्पादनहरुको निर्यातको बाटो खोल्ने बताए । उनले यस्तो कार्यले निजी क्षेत्रमा प्रविधि भित्र्याउने अवसर प्रदान हुने विश्वास लिँदै चेम्बरले व्यापार प्रवर्द्धन र उत्पादन निर्यातमा विशेष जोड दिए ।
प्रदर्शनीमा अटोमोबाइल, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स सामान, फर्निसिङका सामान, घरायसी उपकरण, कपडा, मोबाइल, जलविद्युत्, हस्तकला, छाला तथा जुत्ता, कस्मेटिक सामान, जडीबुटी, आयुर्वेद तथा विभिन्न रैथाने खाद्यान्न बिक्रीका लागि राखिएका छन् । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कम्पनी तथा व्यवसायीको सहभागिता रहेको प्रदर्शनीमा कुल १ सय ६० ‘स्टल’ रहेका छन् । (न्युज एजेन्सी नेपाल)



About Us
प्रतिक्रिया