काठमाडौं– हिमाल आरोहणमा जाने सरकारी सम्पर्क अधिकृत बन्न चाहने कर्मचारीको नाम पर्यटन विभागले माग गरेको छ ।
आगामी आरोहण सिजनका लागि अनुमति लिएका पर्वतारोही दलका साथमा जाने सम्पर्क अधिकृतका लागि विभागले नेपाल सरकारका सबै विभाग तथा मन्त्रालय तथा प्रदेश मन्त्रालयहरुसँग समेत नाम माग गरेको हो । यसका लागि १५ दिनको समय दिइएको छ ।
विभागले १ सयभन्दा बढी दरबन्दी भएका कार्यालयबाट २ र सो भन्दा कम दरबन्दी भएको निकायबाट १ जना पठाउनु पर्ने भएको छ । सो कार्यालयमा ६ महिनादेखि काम गरिरहेका कर्मचारीलाई सम्पर्क अधिकृतका रुपमा खटाउन सकिन्छ।
यसअघि सम्पर्क अधिकृतमा जान नपाएका कर्मचारीलाई प्राथमिकता दिन समेत भनिएको छ । ६ महिनादेखि वैदेशिक भ्रमणमा नपरेको र विदेशी नियोगमा पछिल्लो २ वर्षयता नपरेका कर्मचारीले मात्र सम्पर्क अधिकृत बन्न सक्ने भएका छन् ।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानद्वारा सञ्चालित पर्वतारोहण सम्पर्क अधिकृत अनुस्थापन तालिम लिएका कर्मचारीको नाम छनोट गरी विभागमा पठाउनु पर्नेछ ।
प्रतिक्रिया