तीन पटकको सर्किट ब्रेकपछि शेयर कारोबार बन्द, नेप्सेमा ६ प्रतिशतकाे वृद्धि

तीन पटकको सर्किट ब्रेकपछि शेयर कारोबार बन्द, नेप्सेमा ६ प्रतिशतकाे वृद्धि


काठमाडाैं – सत्ता गठबन्धमा आएको फेरबदलले शेयर बजारमा तीन पटकसम्म सकारात्मक ‘सर्किट ब्रेक’ लागेपछि आजका लागि काराेबार स्थगित भएको छ । कारोबार सुरु भएको ३ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४ प्रतिशत अर्थात् ७९ अंक बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो ।

२० मिनेटपछि खुलेको कारोबारमा फेरि ५ प्रतिशत अर्थात् ९८ अंक बढेपछि दोस्रो सर्किट लागेको थियो । दोस्रो सर्किट ब्रेकपछि ४० मिनेटका लागि कारोबार स्थगित भयो । १२ः ४ मा खुलेको बजारमा १ मिनेटमै नेप्सेकाे वृद्धि ६ प्रतिशत पुगेपछि सर्किट लागेर काराेबारकाे बन्द भएकाे हाे।

कारोबार सुरु हुने वित्तिकै अरुण काबेली पावर लिमिटेड र त्रिशुली जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियाे ।

माओवादी केन्द्र र कांग्रेसको सत्ता गठबन्धन भत्किएपछि एमाले सहित नयाँ गठबन्धन बन्ने खबरले नेप्सेमा उछाल आएको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेसहित रास्वपा, जसपा र जनमत सहभागी हुने भएका छन् ।