काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सहकारीको अनुसन्धान गर्दा बैंकर समेत पक्राउ परेको बताएका छन् । आइतबार संसदीय समितिमा भएको छलफलमा गभर्नर अधिकारीले भने, ‘सीआईबीले बैंकको अनुसन्धान गर्दा होइन, सातदोबाटोमा रहेको देउराली सहकारीको अनुसन्धान गर्दा त्यसको लहरो तत्कालीन सेन्चुरी बैंक र हालको प्रभु बैंकसम्म आइपुगेको हो।’
बैंकर पक्राउ परेको विषयमालाई प्रष्ट पार्दै राष्ट्र बैंकले प्रहरीसँग पनि समन्वय गरेको उनले जानकारी दिए । ‘बैंकिङ्ग कसुरजन्य कार्य गरेको खण्डमा प्रहरीले अनुसन्धान गर्छ । प्रहरीले देउराली बहुउद्देश्यीय सहकारीको अनुसन्धान गर्दै जाँदा बैंकका कर्मचारीसम्म पुगेको हो’, उनले भने ।
त्यस्तै प्रहरीले एकै पटक बैंकर समातेको जस्तो देखिए पनि यस विषयमा प्रहरीले धेरै पहिलेबाट नै अनुसन्धान गरिरहेको र अनुसन्धानको अन्तिम चरणमा पुगेकाले बैंकर पक्राउ परेको अधिकारीको भनाइ छ । योसँगै सरकारी निकायले गरेको अनुसन्धानमा राष्ट्र बैंकले सहयोग गर्ने उनले बताए ।
प्रतिक्रिया