कर्जा दुरुपयोगको विषयमा बैंकका कर्मचारी पक्राउ परेको भन्ने समाचारप्रति सिबिफिनको गम्भीर ध्यानाकर्षण


काठमाडौं– केही दिनदेखि कर्जा दुरुपयोगको विषयलाई लिएर बैंकका कर्मचारी पक्राउ भन्ने शिर्षकमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका समाचारहरुप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले गम्भीर ध्यानाकर्षण जनाएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै धितो र कर्जा प्रवाहको विषयमा प्रचलित नियम र अन्तर्राष्ट्रिय बैंकिङ्ग अभ्यासको बारेमा गहिरो अध्ययन र जानकारी नलिई कुनै पेशाकर्मीलाई अपराधीकै शैलीमा धरपकडसहित नियन्त्रण लिई हिरासतमा राखिएको कार्यप्रति पनि सिबिफिनले आपत्ति जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘बैंकका गतिविधिहरु नियामक निकायको सूक्ष्म निगरानीमा रहेको विषय विदितै छ । बैंकभित्र कुनै पनि बदमासी भए वा कर्जा प्रवाह गर्दा व्यक्तिगत लाभ हुने र बैंकलाई नोक्सानी हुने गरी बदमासी गर्ने सम्बद्ध व्यक्तिहरुलाई प्रचलित कानून अनुसार कारबाही हुनुपर्दछ र हुँदै आएको पनि छ । व्यावसायिक/व्यापारिक कर्जा, पूर्वाधार तथा विकास निर्माणको आयोजनामा ऋण लगानी गर्दा उक्त परियोजनाको सम्भाव्यता, लागत, परियोजनासँग रहेको धितोसम्पत्ति, मौज्दात, आसामीसँग लिनुपर्ने/उठाउनुपर्ने रकम र सम्भावित आम्दानीसम्मलाई मध्यनजर गरेर ऋण लगानी हुने गरेको तथ्य जगजाहेर नै छ । तर, धितो र कर्जा प्रवाहको विषयमा सतही जानकारीका आधारमा कुनै पेशाकर्मीलाई दोषी करार भए जसरी नै नियन्त्रण लिइनुले समग्र बैंकिङ्ग क्षेत्र त्रसित र भयवित बनेको छ भने समग्र लगानीकर्ता समेत सोचमग्न बनेका छन् ।’

यस्ता कार्यले स्वदेशमा भविष्य नदेखेर रोजगारी र शिक्षाका नाममा पलायन भइरहेको जनशक्ति पनि बढ्ने बताउँदै मातृभूमिप्रति समर्पित भएर आफ्नो अनुभव, क्षमता र दक्षताको प्रयोग गरेर देशको बैंकिङ्ग क्षेत्रको स्तरोन्नति सहित समग्र अर्थतन्त्रमा नै महत्वपूर्ण टेवा पुर्याइरहेका बैंकिङ्ग क्षेत्रका कर्मचारीमा परेको मनोवैज्ञानिक सन्त्रासले राष्ट्रकै भविष्यमा असर पर्ने सिबिफिनको भनाइ छ ।

‘नेपालको बैंकिङ्ग क्षेत्र एसियाली देशहरुकै तुलनामा सबल र सक्षम छन्, यो नेपालका बैंक तथा वित्तीय संस्थाहरु र नियामक निकायले प्रकाशित गरेका वित्तीय विवरणहरुले नै प्रमाणित गरेका छन्। यसो हुनुमा यस क्षेत्रमा कार्यरत काबिल कर्मचारीहरुको महत्वपूर्ण योगदान रहेको छ । बैंकिङ्ग क्षेत्रमा कर्जा प्रदान गर्नु, कर्जाको अवस्था हेरी संभावित जोखिम व्यवस्थापन गर्नु र बिग्रेको कर्जा असुलउपर गर्ने कार्य गर्नु सामान्य बैंकिङ्ग प्रक्रिया रहेको हुँदा असल नियतबाट गरिएका कार्यलाई वेवास्ता गर्दै अनाहकमा कारवाहीको भागिदार बनाइनु न्यायसंगत हुँदैन । यस्ता कार्यले बैंकिङ्ग क्षेत्रका कर्मचारीको सामाजिक जीवन र प्रतिष्ठामा मात्र होइन, बिना धितो वा परियोजना धितोमा कर्जा प्रवाहको अभ्यासमा अग्रसर हुने राष्ट्रको योजनामा समेत ठेस पुग्ने र यस्तो अभ्यासको वकालत गर्दै आएका अन्तर्राष्ट्रिय समुदायकोवीचमा समेत राष्ट्रको प्रतिष्ठा गिर्नेप्रति संवेदनशील हुन समेत सरोकारवाला सबैंको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं । तसर्थ, कर्जा प्रवाह जस्तो नियमितरुपमा गरिने कार्यकोअन्तिम टुंगो नलागेसम्म कर्मचारीलाई धरपकड गरी हिरासतमा राख्ने जस्ता कार्य नगर्न सिबिफिन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ ।