सहकारीका समस्या र समाधानका उपाय पहिचान गर्न आवश्यक छ: उपरजिष्ट्रार

सहकारीका समस्या र समाधानका उपाय पहिचान गर्न आवश्यक छ: उपरजिष्ट्रार


काठमाडौं– सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले सहकारीमा समस्या आउनुका कारण र समाधानका उपायहरू पहिचान गर्न आवश्यक रहेको बताएका छन् ।

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको आयोजनामा बुधबारबाट सुरु भएको दुई दिने बागमती साकोस समिटको उद्घाटन कार्यक्रममा बोल्दै उनले वर्तमान सहकारीको समस्या सामाधानका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताएका हुन् ।

सहकारीले के कस्तो योगदान गरेको छ, त्यसको यर्थाथ विवरण नहुँदा पनि सहकारीमा समस्या भएको उनको बुझाई छ । सामुहिक व्यवसायमा व्यक्ति सफल हुने तर अभियानको विषयमा प्रश्न उठ्ने खालका टिकाटिप्पणी हुनु र अहिले बजारमा देखिएका यावत् समस्यालाई हल नगरे सरकारी अभियान माथि सर्वसाधारणको विश्वास झनै कमजोर हुने उनको तर्क छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष मीनराज कडेलले सहकारी अभियानको सुदृढिकरणका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको औंल्याए। बचत तथा ऋणको कारोबार गर्ने र सहकारीको मूल्य मान्यता भन्दा बाहिर रहेर काम गर्ने सहकारीहरूमा मात्र समस्या सिर्जना भएकाे उनले बताए।

अहिले सहकारीमा नियामक निकायको भूमिका पनि संकास्पद छ । सहकारी क्षेत्रमा देखिएको प्रतिकुल अवस्थामा पनि एउटै संस्थाले एकैदिन २४ वटासम्म सेवा केन्द्र सञ्चालनका लागि स्वीकृति दिएको छ । यसले पनि सहकारी क्षेत्रमा समस्या ल्याएको उनको बुझाई छ ।