पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सरकार नै चलाउन चाहँदैनः सांसद आचार्य


काठमाडौं – नेकपा एमालेका सांसद भीम आचार्यले प्रधानमन्त्रीलाई प्रभावमा पारेर हवाई माफियाले नेपाली आकाश नै कब्जा गर्न खोजेको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद बैठकले त्रिभुवन विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने नियतले अध्ययन समिति गठन गरेको आरोप लगाउदै सरकारले पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन रोकेर त्रिभुवन विमानस्थलको जिम्मा निजी क्षेत्रलाई दिन खोजेको आरोप लगाएका छन् ।

उनले भने ‘दुईवटै विमानस्थल सञ्चालन रोकेर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्राइभेटलाई दिने नियत देखिन्छ’, उनले भने, ‘(टीआईए – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) पहिलेदेखि नै निजीले लिन हवाई माफियाहरुले पहल गरिरहेका थिए ।’

त्रिभुवन विमानस्थलले वर्षमा साढे १२ अर्ब रुपैयाँ आम्दानी गर्ने र डेढ अर्ब मात्र खर्च हुने गरेको भन्दै पूर्व पर्यटनमन्त्रीसमेत रहेका आचार्यले ११ अर्ब रुपैयाँ निजी कम्पनीलाई दिन खोजेको आरोप समेत लगाए ।