काठमाडौं– सांसद भगबती चौधरीले गरिबीको रेखामुनि रहेका ६० लाख मानिसको उत्थानका लागि लघुवित्तको योगदान महत्वपूर्ण रहेको बताएकी छिन् । आइतबार चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनको समापन समारोहमा बोल्दै सांसद चौधरीले भनिन्, ‘अझैपनि २०.२७ प्रतिशत अर्थात ६० लाखको हाराहारीमा गरिबीको रेखामुनी जनता रहेको देखिन्छ । अहिले लघुवित्तले ५९ लाख सदस्यहरुलाई सेवा दिइरहेको छ । उनीहरुको आर्थिक उत्थानका लागि पनि लघुवित्त कार्यक्रमको भूमिका रहनुपर्छ ।’
ग्रामिण अर्थतन्त्रलाई चलायमान बनाउने, महिलाहरुमा वित्तीय पहुँच पुर्याउनुका साथै स्वाबलम्बन र उद्यमशिलतालाई अंगिकार गर्नुपर्ने जस्ता कार्यक्रमले दूरदराजमा रहेका महिलाहरु आर्थिक सवलीकरणमा जोडिन सक्ने उनको विश्वास छ । ‘गरिबीको रेखामुनी रहेकोहरुलाई सेवा दिनकोलागि लघुवित्त स्थापना गरिएको हो तर, बैंक तथा वित्तीय संस्था अन्तरगतको बाफिया एक्ट ल्याइयो । त्यसको आधारमा आउँदा लघुवित्त सञ्चालकहरुले सोसल क्रेडिटको काम, तालिमहरु गर्नुपर्नेमा बाफिया एक्ट आएपनि सामाजिक कार्यहरु छायाँमा परेर गए । सञ्चालकहरुले मुनाफा मुनाफा मुनाफा मात्रै खोजे त्यसले समस्या निम्त्यायो’, चौधरीले गुनासो पोखिन् ।
लघुवित्त सम्बन्धी छुट्टै कानुन नहुँदा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई हेर्ने बाफिया ऐन अनुसार व्यवहार गर्दा लघुवित्त क्षेत्रमा समस्याहरु उत्पन्न भएको उनले औंल्याइन् । साथै लघुवित्तको मूलमर्मलाई ध्यानमा राखेर वित्तीय कारोबारसँगै सामाजिक कार्यहरुलाई अगाडि बढाउनु पर्नेमा जोड दिइन् ।



About Us
प्रतिक्रिया